काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
शनिबार असोज १७ गते काठमाडौंको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन्।बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई आमनागरिकसँग अझ नजिक बनाउने उद्देश्यले आफूले महामन्त्री पदमा उम्मेदवारी दिन लागेको शर्माले बताए। उनले पार्टीको पहुँच देशका दुर्गम क्षेत्रसम्म विस्तार गर्दै सर्वसाधारणका समस्या र आवश्यकतालाई राजनीतिको प्राथमिकतामा राखेर काम गर्ने आफ्नो योजना रहेको उल्लेख गरे।
शर्माले लोकतन्त्र पुनर्स्थापनाका लागि विगतमा नेपालसँगै भारत र अमेरिकामा समेत विभिन्न राजनीतिक गतिविधि तथा पहलमा आफू सहभागी भएको स्मरण गरे। कांग्रेससँग आफ्नो लामो समयदेखिको राजनीतिक सम्बन्ध रहेको पनि उनले बताए।डा. शर्मा मोरङ–३ बाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्। त्यसअघि उनी बेलबारी नगरपालिका–४ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए। शर्मा २०५४ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताइएको छ।