काठमाडौं ।फ्रान्सका विभिन्न स्थानमा विद्यार्थीहरूले सार्वजनिक शिक्षा प्रणालीसँग सम्बन्धित समस्यालाई लिएर प्रदर्शन गरिरहेका छन्।
विद्यार्थीहरूले विद्यालयमा आवश्यक पूर्वाधारको अभाव, शिक्षकको कमी, कक्षाकोठामा बढ्दो भीड तथा लामो समयसम्म सञ्चालन हुने विद्यालयप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मको विद्यालय समय विद्यार्थीका लागि थप बोझिलो बनेको छ।सरकारले सार्वजनिक शिक्षाका लागि छुट्याएको बजेटमा गरेको कटौतीप्रति पनि विद्यार्थीहरूले विरोध जनाएका छन्। बजेट घटाउँदा सार्वजनिक शिक्षा प्रणालीको अवस्था अझ कमजोर हुन सक्ने उनीहरूको तर्क छ।
प्रदर्शनका क्रममा केही स्थानमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। विरोधका कारण विद्यालय बन्द हुनुका साथै विभिन्न भौतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ। प्रारम्भिक अनुमानअनुसार प्रदर्शनबाट करिब एक करोड युरो बराबरको आर्थिक क्षति भएको छ।प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव बढ्दै गएपछि सयौँ मानिस घाइते भएको र हजारौँलाई पक्राउ गरिएको विवरण सार्वजनिक भएको छ।