काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै निर्वाचन समितिले उम्मेदवारले पूरा गर्नुपर्ने कागजात तथा प्रक्रिया सार्वजनिक गरेको छ।
सम्बन्धित पदमा उम्मेदवारी दिन चाहनेले तोकिएको फारम पूर्ण रूपमा भरेर बुझाउनुपर्नेछ। उम्मेदवारी फारममा सोही पदका लागि तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट एक जना प्रस्तावक र एक जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ। उम्मेदवार आफैँले भने आफूले उम्मेदवारी दिएको पदका लागि प्रस्तावक वा समर्थक बन्न नपाउने समितिले जनाएको छ।
उम्मेदवारी दर्ताका क्रममा तोकिएको शुल्क तिरेको बैंक भौचर वा रसिद पनि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। उक्त भौचरमा उम्मेदवारको नाम स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्नेछ।त्यसैगरी उम्मेदवारले आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्र र नेपाल सरकारबाट जारी आधिकारिक परिचयपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ। समावेशी समूहअन्तर्गत उम्मेदवारी दिनेहरूले आफू सम्बन्धित क्लस्टरमा पर्ने प्रमाणित गर्ने आवश्यक प्रमाणपत्रसमेत पेश गर्नुपर्ने व्यवस्था छ।
उम्मेदवारी रुजुका क्रममा क्रियाशील सदस्यताको निरन्तरता प्रमाणित गर्ने सम्बन्धित सिफारिस पनि आवश्यक पर्नेछ। यस्तो सिफारिस उम्मेदवारी फारमसँगै बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ।निर्वाचन समितिले उम्मेदवारी दर्ताका क्रममा फारम, प्रस्तावक र समर्थक, शुल्क बुझाएको प्रमाण, महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र, सरकारी परिचयपत्र, समावेशी क्लस्टरसम्बन्धी प्रमाणपत्र तथा क्रियाशील सदस्यताको निरन्तरता सिफारिसलगायत आवश्यक कागजात जाँच गर्नेछ।यससँगै कांग्रेसको केन्द्रीय नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिन चाहने आकांक्षीहरूले तोकिएका सबै कागजात र प्रक्रिया पूरा गरेर मात्र उम्मेदवारी दर्ता गर्नुपर्ने भएको छ।