काठमाडौं ।अन्तरव्यवस्थापिका सङ्घ आईपीयू को १५३औँ महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।
नेपाली टोलीको नेतृत्व सभामुख डोलप्रसाद डीपी अर्यालले गरिरहेका छन्।भेटवार्तामा नेपाल र चीनबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध तथा दुई देशका संसद्बीचको सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।सो अवसरमा सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध आपसी मित्रता, असल छिमेकीपन, सम्मान र पञ्चशीलका सिद्धान्तमा आधारित रहेको बताए। उनले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाली भूभाग चीनविरुद्धका कुनै गतिविधिका लागि प्रयोग हुन नदिने धारणा राखे।
नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउने दिशामा चीनबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै सभामुख अर्यालले दुई देशबीचको विकास साझेदारीलाई थप परिणाममुखी बनाउन आवश्यक रहेको बताए।उनले हालै रसुवा क्षेत्रमा आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा बेपत्ता भएका चिनियाँ नागरिकका परिवारप्रति समवेदना पनि प्रकट गरे।
विपद्को समयमा चीन सरकारले उपलब्ध गराएको आर्थिक तथा मानवीय सहयोगका साथै खोज तथा उद्धारमा गरेको योगदानप्रति पनि सभामुखले आभार व्यक्त गरे। चीनबाट सुरुङ उद्धार तथा फरेन्सिक र डीएनए विज्ञहरूको टोलीसँगै ड्रोनलगायत आवश्यक उपकरणसमेत उपलब्ध गराइएको थियो।सभामुख अर्यालले नेपाल–चीन संसदीय मैत्री समूह तथा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकांग्रेसबीच भएको अन्तरसंसदीय सहकार्यसम्बन्धी समझदारीले आगामी दिनमा संसदीय आदानप्रदान र दुई देशबीचको आपसी समझदारी थप बलियो हुने विश्वास व्यक्त गरे।