काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ।
महाधिवेशनमा सहभागी ७ हजार ११४ प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्।निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचनसम्बन्धी कार्यालय सञ्चालन गर्दै उम्मेदवारका लागि मनोनयन फारम वितरण र दर्ताको व्यवस्था मिलाएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटवालका अनुसार बिहान १० बजेदेखि मनोनयन फारम वितरण सुरु हुनेछ।महाधिवेशन प्रतिनिधिहरूको नामावली सभागृहको भित्री भागमा सार्वजनिक गरिएको छ। उम्मेदवारी दिन चाहने प्रतिनिधिले तोकिएको शुल्क बुझाएर फारम लिन सक्ने व्यवस्था गरिएको छ।
निर्वाचन समितिका अनुसार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ।यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको संख्या १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ। सोमबार पारित संशोधित विधानअनुसार पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ।नयाँ संरचनामा वरिष्ठ उपसभापतिको एक पद र महिला उपसभापतिको एक पद थपिएको छ। अब उपसभापतिको संख्या चार पुगेको छ। महामन्त्रीको संख्या तीन बनाइएको छ भने तीमध्ये एक पदमा महिला अनिवार्य गरिएको छ।
त्यस्तै, दुई खुला सहमहामन्त्रीको पद थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ। पार्टीमा प्रवक्ताको पद पनि थप गरिएको छ भने आवश्यकता हेरेर सहप्रवक्ताको संख्या बढाउन सकिने कांग्रेसले जनाएको छ।यसअघि १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो भने पदाधिकारी १४ जना थिए।प्रतिनिधिको संख्या तथा समावेशी सहभागिता बढेकाले पार्टीको केन्द्रीय संरचना र पदाधिकारी संख्या विस्तार गरिएको कांग्रेसको भनाइ छ।