काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माण, मर्मत तथा कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर र फर्निसिङमा ४ करोड ५९ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा कार्यालय पुनर्निर्माण तथा पुनःस्थापनामा भएको खर्चको विवरण उल्लेख गरिएको हो।प्रतिवेदनअनुसार २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालय भवनमा क्षति पुगेपछि कार्यालयलाई पुनः सञ्चालनयोग्य बनाउन पुनर्निर्माण तथा मर्मतको काम अघि बढाइएको थियो।
यस क्रममा कार्यालय उपकरण, फर्निचर तथा फर्निसिङसहितका काममा कुल ४ करोड ५९ लाख ३९ हजार ४१ रुपैयाँ खर्च भएको जनाइएको छ।पुनर्निर्माण तथा पुनःस्थापनाका लागि पार्टी सदस्यहरूबाट १८ लाख ८४ हजार १६८ रुपैयाँ सहयोग प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ। यस्तै, कोषाध्यक्षको पहलमा ५९ लाख ९० हजार ६७८ रुपैयाँ सहयोग संकलन भएको थियो।कोषाध्यक्ष उमेश श्रेष्ठले व्यक्तिगत रूपमा १ करोड २५ लाख १७९ रुपैयाँ योगदान गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यसैगरी, पार्टीका अन्य स्रोतबाट १ करोड २८ लाख ९९ हजार ६८६ रुपैयाँ भुक्तानी गरिएको जनाइएको छ। विभिन्न आपूर्तिकर्ता तथा विक्रेतालाई भने १ करोड ४९ लाख १२ हजार ७१८ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।बाँकी दायित्वमा कोषाध्यक्षबाट प्राप्त ६५ लाख रुपैयाँ सापटीसमेत समावेश रहेको जनाइएको छ।आन्दोलनका क्रममा भएको क्षतिपछि कार्यालयको पुनर्निर्माण, मर्मत तथा आवश्यक सामग्री व्यवस्थापनका लागि विभिन्न स्रोतबाट रकम जुटाएर काम अघि बढाइएको जानकारी कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदनमार्फत दिएका छन्।