काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबारदेखि सुरु भएको बन्दसत्रमा चारवटा प्रतिवेदन प्रस्तुत भएका छन्।
बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री गुरुराज घिमिरेले संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका हुन्।प्रस्तुत चारवटै प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले छलफल गरिरहेका छन्। प्रतिवेदनमा पार्टीको राजनीतिक दिशा, समसामयिक विषय, संगठन सञ्चालन तथा आर्थिक अवस्थासँग सम्बन्धित विषय समेटिएका छन्।
कांग्रेसले महाधिवेशनको बन्दसत्रलाई सहज रूपमा सञ्चालन गर्न तीनवटा छुट्टाछुट्टै हलको व्यवस्था गरेको छ। हिमाल, पहाड र तराई–मधेसका प्रतिनिधिलाई छुट्टाछुट्टै हलमा राखेर प्रतिवेदनमाथि छलफल गराइएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।तीनवटै हलमा प्रतिनिधिहरूले प्रस्तुत प्रतिवेदनमाथि आफ्ना धारणा राखिरहेका छन्। महाधिवेशनको बन्दसत्रबाट प्रतिवेदनमाथिको छलफलपछि आवश्यक निर्णय तथा निष्कर्ष निकालिने बताइएको छ।