काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभन्दा देशको हितलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँको खुलामञ्चमा जारी बन्दसत्रमा समसामयिक प्रस्ताव प्रस्तुत गर्दै शर्माले ‘देश पहिलो र दलको जित दोस्रो’ भन्ने मान्यताका साथ अघि बढ्नुपर्ने धारणा राखेका हुन्।जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलाई समेत प्रस्तावमा समेट्दै शर्माले कांग्रेस लोकतान्त्रिक विधि र संस्थागत प्रक्रियामा विश्वास गर्ने पार्टी भएको उल्लेख गरेका छन्। पार्टीले आफ्ना कमजोरीलाई स्वीकार गर्दै आवश्यक सुधार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
उनका अनुसार लोकतन्त्र केवल प्रक्रियामा सीमित नभई नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्ने व्यवस्था बन्नुपर्छ। जेनजी आन्दोलनपछि लोकतन्त्रप्रतिको नागरिक अपेक्षा अझ बलियो भएको उल्लेख गर्दै शर्माले लोकतान्त्रिक संस्कृतिमा देखिएको क्षयलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।लोकतान्त्रिक संस्कृतिमा आएको कमजोरी कुनै एकै घटनाका कारण अचानक उत्पन्न भएको नभई लामो समयदेखि विकसित भएको उनको भनाइ छ। त्यसको समाधान पनि तत्कालीन वा हतारका उपायबाट मात्र सम्भव नहुने उनले बताएका छन्।
शर्माले नेपालको प्रमुख राजनीतिक परिवर्तनमध्ये अधिकांशमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै अब लोकतान्त्रिक संस्कृतिमा आएको क्षय हटाउने अभियानको नेतृत्व पनि कांग्रेसले गर्नुपर्ने बताएका छन्।उनले कांग्रेसले आफ्ना कमीकमजोरी पहिचान गरी सच्याउँदै लोकतान्त्रिक मूल्य, विधि र संस्थागत प्रक्रियालाई थप मजबुत बनाउने दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।