काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपस्थित खुलामञ्चमा जारी बन्दसत्र पुनः सुरु भएको छ।
करिब एक घण्टाको विश्रामपछि बन्दसत्र पुनः सञ्चालनमा आएको हो। सोमबारको सत्रमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरिरहेका छन्।यसअघि सभापति गगनकुमार थापाले महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमा पार्टीको आन्तरिक संगठनदेखि सार्वजनिक जीवनसम्म सुधार गर्ने उद्देश्यले विभिन्न विषय समेटिएका छन्।
प्रतिवेदनमार्फत कांग्रेसले ‘के गर्ने र के नगर्ने’ भन्ने विषयलाई १७ वटा क्षेत्रमा वर्गीकरण गर्दै नयाँ राजनीतिक मर्यादासम्बन्धी व्यवस्था अघि सारेको छ।पार्टीभित्र देखिएका पुराना राजनीतिक अभ्यास र कमजोरी सुधार गर्दै कांग्रेसलाई नागरिकप्रति थप जवाफदेही, पारदर्शी तथा लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित संगठनका रूपमा अघि बढाउने उद्देश्यले उक्त राजनीतिक मर्यादा ल्याइएको जनाइएको छ।बन्दसत्रमा प्रस्तुत हुने प्रस्ताव र प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच छलफल हुने कार्यतालिका रहेको छ।