काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व र पुस्तान्तरणको बहससँगै रजनी थापाको उम्मेदवारी चर्चामा आएको छ।
काठमाडौं–५ बाट महाधिवेशन प्रतिनिधि बनेकी थापाले महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएकी छन्। कांग्रेसको नयाँ पुस्तालाई पार्टीको नेतृत्व तहमा सहभागी गराउने बहस चलिरहेका बेला थापाको उम्मेदवारीलाई युवा प्रतिनिधित्वसँग जोडेर हेरिएको छ। थापाको समर्थनमा सार्वजनिक गरिएको प्रचार सामग्रीमा ३५ वर्षमुनिका युवाको प्रतिनिधित्वलाई प्राथमिकता दिँदै उनलाई अत्यधिक बहुमतसहित विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग अपिल गरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिका युवाको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्वका लागि व्यवस्था गरिएको विषयले पनि युवा आकांक्षीहरूलाई आकर्षित गरेको देखिन्छ। नयाँ पुस्ताको सहभागिता, नेतृत्वमा पुस्तान्तरण र पार्टीभित्र युवाको भूमिका विस्तार यसपटकको महाधिवेशनमा उठेका प्रमुख विषयमध्ये छन्। थापाले यसअघि नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको जिम्मेवारीसमेत सम्हालेकी थिइन्। सन् २०२४ मा नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष निर्वाचित भएकी थापाको नेतृत्व यात्रा स्थानीय जेसीजबाट सुरु भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा नेतृत्वसम्म पुगेको विवरण सार्वजनिक भएको छ। १५औँ महाधिवेशनले कांग्रेसमा युवा सहभागिता र नेतृत्व हस्तान्तरणको विषयलाई थप बहसमा ल्याएका बेला थापाको उम्मेदवारीले पनि युवा पुस्ताको प्रतिनिधित्वको प्रश्नलाई चर्चामा ल्याएको छ। उनको उम्मेदवारीको अन्तिम अवस्था र निर्वाचन परिणाम भने महाधिवेशनको निर्वाचन प्रक्रियाबाट तय हुनेछ।