काठमाडौं ।नेपाली कांग्रेसले पार्टीको परम्परागत कार्यशैलीमा परिवर्तन गर्दै संगठनलाई आधुनिक, प्रविधिमैत्री र प्रभावकारी बनाउने योजना अघि सारेको छ।
काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पार्टीको ऐतिहासिक विरासतलाई नयाँ पुस्ताको अपेक्षा र आधुनिक प्रविधिसँग जोड्दै संगठन पुनर्संरचना गर्ने योजना समेटिएको हो।प्रस्तावमा पार्टीलाई माथिल्लो तहबाट निर्देशन दिने पुरानो शैलीबाट बाहिर निकालेर सदस्यकेन्द्रित र पारदर्शी संगठनका रूपमा विकास गर्ने उल्लेख गरिएको छ। यसका लागि पार्टी सदस्यता वितरण तथा नवीकरण, आन्तरिक छलफल, निर्वाचन प्रक्रिया र आर्थिक व्यवस्थापनलाई डिजिटल प्रणालीमा लैजाने योजना अघि सारिएको छ।
थापाले पार्टीभित्र पुस्तान्तरण र समावेशितालाई प्रभावकारी बनाउन नयाँ पुस्ता तथा अग्रजलाई समेट्ने छुट्टाछुट्टै संयन्त्र निर्माण गर्ने प्रस्ताव गरेका छन्। १८ देखि २१ वर्ष उमेर समूहका युवाको सहभागिता बढाउन ‘युथ काउन्सिल’ र अनुभवी पुस्ताको ज्ञान तथा अनुभव उपयोग गर्न ‘विज्डम काउन्सिल’ बनाउने योजना प्रस्तावमा उल्लेख छ।
उम्मेदवार छनोट प्रक्रियामा पैसा र पहुँचको प्रभाव घटाउन प्राथमिक निर्वाचन अर्थात् ‘प्राइमरी’ प्रणाली लागू गर्ने प्रस्ताव पनि अघि सारिएको छ। त्यस्तै, पार्टीका नेता तथा कार्यकर्ताको मूल्याङ्कन गुटगत निकटताका आधारमा नभई उनीहरूले समुदाय र सार्वजनिक क्षेत्रमा गरेको कामका आधारमा गर्ने नीति प्रस्ताव गरिएको छ।
सभापति थापाले अबको समय केवल आश्वासन बाँड्ने नभई नागरिकका अपेक्षा र समस्यालाई सम्बोधन गर्ने गरी परिणाममुखी काम गर्नुपर्ने बताएका छन्।कांग्रेसलाई नीति अनुसन्धान, युवा उद्यमशीलता र नागरिकका दैनिक समस्याको समाधानसँग जोडिएको राजनीतिक संगठनका रूपमा विकास गर्ने लक्ष्य प्रस्तावमा राखिएको छ। आगामी चार वर्षमा पार्टीलाई राष्ट्रिय पुनर्जागरण र समुन्नतिको नेतृत्व गर्न सक्ने आधुनिक तथा भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने थापाको प्रस्तावमा उल्लेख छ।