काठमाडौं ।नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनमार्फत संगठनभित्र सुधार र सार्वजनिक जीवनमा नयाँ राजनीतिक संस्कार स्थापित गर्ने उद्देश्यसहित १७ वटा विषय समेटिएको राजनीतिक मर्यादा सार्वजनिक गरेको छ।
सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समेटिएको उक्त दस्तावेजमा पार्टीलाई पारदर्शी, जवाफदेही र लोकतान्त्रिक मूल्यमा आधारित बनाउन अपनाइने नीति तथा व्यवहार स्पष्ट गरिएको छ। विगतमा देखिएका राजनीतिक विकृति र गलत अभ्यासबाट अलग हुँदै नागरिकप्रति उत्तरदायी पार्टी निर्माण गर्ने लक्ष्य कांग्रेसले राखेको जनाएको छ।
राजनीतिक मर्यादामा पहिलो प्राथमिकता लोकतान्त्रिक मूल्यलाई दिइएको छ। मानव अधिकार, नागरिक स्वतन्त्रता र संवैधानिक व्यवस्थाप्रति प्रतिबद्ध रहने तर सत्ता वा तत्कालीन लाभका लागि आधारभूत मूल्यमा सम्झौता नगर्ने कांग्रेसको भनाइ छ।त्यस्तै, अन्य राजनीतिक दलसँग सहकार्य गर्दा स्पष्ट सार्वजनिक उद्देश्य र नीतिगत आधारलाई प्राथमिकता दिने उल्लेख छ। पद, प्रभाव वा सुविधाको लेनदेनलाई राजनीतिक सहकार्यको आधार नबनाउने कांग्रेसले जनाएको छ।
निर्वाचनका विषयमा भने कांग्रेसले निर्वाचनअघि गठबन्धन नगरी आफ्नै चुनाव चिह्न, नीति र उम्मेदवार लिएर जनतामाझ जाने नीति अघि सारेको छ। साथै सार्वजनिक बहसमा तथ्य, तर्क र कामका आधारमा स्वस्थ संवाद गर्ने तथा घृणा, अपमान र सस्तो लोकप्रियताबाट टाढा रहने प्रतिबद्धता जनाइएको छ।
कांग्रेसले अदालत, संवैधानिक निकाय, विश्वविद्यालय तथा निजामती प्रशासनजस्ता राज्यका संस्थाको स्वतन्त्रता र क्षमता बलियो बनाउने जनाएको छ। सार्वजनिक नियुक्तिमा योग्यता, क्षमता र इमानदारीलाई आधार बनाउने तथा संवैधानिक पदमा नियुक्तिका लागि दुई वर्षको ‘कुलिङ अफ’ अवधि लागू गर्ने प्रस्तावसमेत मर्यादामा समेटिएको छ।
सार्वजनिक स्रोतको प्रयोग नागरिकको हितमा मात्र गर्ने, स्वार्थको द्वन्द्व तथा बिचौलियाको प्रभाव नियन्त्रण गर्ने र नीतिगत निर्णयका नाममा अनुचित लाभ नदिने व्यवस्था अघि सारिएको छ। भ्रष्टाचारको आरोप लागेका व्यक्ति आफ्नै पार्टीका भए पनि निष्पक्ष अनुसन्धान हुन दिने र राजनीतिक संरक्षण नगर्ने कांग्रेसको प्रतिबद्धता छ।महिला, युवा तथा पछाडि परेका समुदायको नीति निर्माण र नेतृत्वमा अर्थपूर्ण सहभागिता बढाउने विषयलाई पनि प्राथमिकता दिइएको छ। पार्टी सदस्यलाई नीति, नेतृत्व र उम्मेदवार छनोटमा सक्रिय भूमिका दिने तथा उनीहरूलाई केवल निर्देशन पालना गर्ने वा मतदान गर्ने भूमिकामा सीमित नराख्ने उल्लेख छ।
उम्मेदवार छनोटमा प्राथमिक निर्वाचन, योग्यता, सामुदायिक योगदान र नैतिक आचरणलाई आधार बनाउने कांग्रेसले जनाएको छ। पैसा, पहुँच वा नेतृत्वसँगको निकटतालाई उम्मेदवार बन्ने आधार नबनाउने नीति दस्तावेजमा उल्लेख छ।पार्टीका सहिद, घाइते तथा योगदानकर्ताको सम्मान गर्दै समान अवसरको वातावरण निर्माण गर्ने, पदलाई पारिवारिक उत्तराधिकार वा निकट व्यक्तिलाई अवसर दिने माध्यम नबनाउने प्रतिबद्धता पनि कांग्रेसले जनाएको छ। असहमति र आलोचनालाई सुन्ने, निष्पक्ष सुनुवाइ गर्ने र गल्ती सच्याउने संस्कार विकास गर्ने विषयलाई समेत राजनीतिक मर्यादामा समेटिएको छ।
त्यसैगरी नियमित अधिवेशन, विश्वसनीय सदस्यता अभिलेख र स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्ने कांग्रेसले जनाएको छ। महाधिवेशन वा निर्वाचन प्रभावित पार्ने गरी अन्तिम समयमा सदस्यता वितरणसम्बन्धी नियम परिवर्तन नगर्ने उल्लेख छ।पार्टीको आर्थिक गतिविधिमा सहयोगका स्रोत, आयव्यय तथा लेखापरीक्षण सार्वजनिक गर्ने र आर्थिक सहयोगको बदलामा निर्णय, ठेक्का वा नियुक्तिमा अनुचित लाभ नदिने व्यवस्था प्रस्ताव गरिएको छ।
अन्तिम बुँदामा भने नेताकार्यकर्ताको मूल्याङ्कन गर्दा समुदायमा गरेको काम, सार्वजनिक जिम्मेवारी र प्राप्त परिणामलाई प्राथमिक आधार बनाउने उल्लेख छ। व्यक्तिगत प्रचार, छवि निर्माण वा गुटगत गतिविधिका आधारमा वास्तविक योगदानलाई ओझेलमा नपार्ने कांग्रेसले जनाएको छ।