काठमाडाैँ। अस्ट्रेलियाको भिक्टोरिया राज्यमा उत्कृष्ट विद्यार्थीलाई सरकारी विद्यालयमै थप गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यसहित लिबरल–नेसनल्सले नयाँ योजना सार्वजनिक गरेको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको योजनाअन्तर्गत राज्यका विभिन्न क्षेत्रमा थप नौ वटा छनोट–आधारित सरकारी विद्यालय स्थापना गर्ने प्रस्ताव अघि सारिएको हो। लिबरल–नेसनल्सको ‘उत्कृष्ट शिक्षा योजना’ अन्तर्गत प्रस्तावित नौ विद्यालयमध्ये तीन वटा विद्यालय विद्यार्थीको चाप बढी रहेको र हाल पर्याप्त शैक्षिक अवसर उपलब्ध नभएका क्षेत्रमा स्थापना गर्ने तयारी गरिएको छ। गठबन्धनले सरकार गठन गरेमा विद्यालय निर्माणका लागि आवश्यक जग्गा पहिचान तथा अधिग्रहणको प्रक्रिया तत्काल सुरु गर्ने र सन् २०३० अगावै विद्यालय सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ।
प्रस्तावअनुसार पहिलो विद्यालय मेल्टन, क्यारोलिन स्प्रिङ्स, सिडेनह्याम तथा आसपासका क्षेत्रमा स्थापना गरिनेछ। दोस्रो विद्यालय क्रेगिबर्न, रोक्सबर्ग पार्क तथा आसपासका क्षेत्रमा र तेस्रो विद्यालय ल्याङफरिन, क्रानबर्न साउथ तथा आसपासका क्षेत्रमा निर्माण गर्ने प्रस्ताव गरिएको छ। बाँकी छ वटा विद्यालय भने कुन क्षेत्रमा स्थापना गर्ने भन्ने निर्णय स्थानीय समुदायसँगको परामर्श, विद्यार्थीको माग तथा सम्बन्धित तथ्यांक र अनुसन्धानका आधारमा गरिने जनाइएको छ। राज्यका विभिन्न क्षेत्रमा उत्कृष्ट सरकारी शिक्षाको समान पहुँच विस्तार गर्नु योजनाको मुख्य उद्देश्य रहेको लिबरल–नेसनल्सको दाबी छ।
आर्थिक अवस्था र बसोबासका आधारमा मात्र भर्ना नहुने
प्रस्तावित विद्यालयमा विद्यार्थी भर्ना गर्दा हाल भिक्टोरियाका छनोट प्रक्रियाबाट सञ्चालन भइरहेका सरकारी विद्यालयको अभ्यासलाई आधार बनाइने बताइएको छ। तर विद्यार्थीको परिवारको आर्थिक अवस्था वा उनीहरू बसोबास गर्ने क्षेत्रका आधारमा मात्र भर्नाको अवसर सीमित नगरिने योजनामा उल्लेख छ। विद्यार्थीको शैक्षिक उपलब्धि, क्षमता तथा सामाजिक–आर्थिक अवस्थालाई समेत मूल्यांकनमा समेटेर भर्ना प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको छ। विशेषगरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका परिवारका शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीले पनि यस्ता विद्यालयमा अध्ययन गर्ने अवसर पाऊन् भन्ने उद्देश्य योजनाले राखेको छ।
लिबरल–नेसनल्सले विद्यार्थीको प्रतिभा, क्षमता र पारिवारिक परिस्थितिलाई ध्यानमा राख्दै सबैका लागि समान शैक्षिक अवसर सिर्जना गर्ने दाबी गरेको छ। सरकारी विद्यालयमा उत्कृष्ट शिक्षा केही निश्चित क्षेत्र वा आर्थिक रूपमा सम्पन्न परिवारका विद्यार्थीमा मात्र सीमित नहोस् भन्ने योजनाको उद्देश्य रहेको बताइएको छ। यसैबीच, भिक्टोरियाको उत्तरी महानगर क्षेत्रबाट लिबरल उम्मेदवारका रूपमा उम्मेदवारी घोषणा गरेका शंकर धरेलले पनि स्थानीय समुदायका समस्या, आवश्यकता र प्राथमिकतालाई आफ्नो राजनीतिक अभियानको मुख्य विषय बनाउने प्रतिबद्धता जनाएका छन्।
धरेलले समुदायका सुझाव सुन्ने, स्थानीय बासिन्दासँग सहकार्य गर्ने र उनीहरूका प्राथमिकताका विषयलाई राजनीतिक तहमा प्रभावकारी रूपमा उठाउने बताएका छन्। उनले आफ्नो अभियानमा समुदायको सहभागिता र समर्थनका लागि आग्रहसमेत गरेका छन्। आगामी निर्वाचनको तयारीसँगै लिबरल–नेसनल्सले सार्वजनिक गरेको यो योजनाले भिक्टोरियाको सरकारी शिक्षा प्रणालीमा उत्कृष्टता र समान पहुँचको बहसलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।