काठमाडौं ।नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले लुम्बिनी प्रदेशमा पार्टीको वडा अधिवेशनलाई तीव्रता दिएको छ।
पार्टी केन्द्रले निर्धारण गरेको कार्यतालिकाअनुसार प्रदेशका विभिन्न जिल्लामा वडा अधिवेशन भइरहेको देउवा पक्षका लुम्बिनी प्रदेश नेता गेहेन्द्र गिरीले जानकारी दिएका छन्।गिरीका अनुसार अधिकांश वडामा अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी रहेका वडाहरूमा पनि सोमबार साँझसम्म अधिवेशन पूरा गर्ने गरी नेता तथा प्रतिनिधिहरूलाई जिम्मेवारी दिएर परिचालन गरिएको छ।
लुम्बिनीका १२ जिल्लामध्ये प्युठानमा सबै वडाको अधिवेशन सम्पन्न भइसकेको छ। त्यहाँ पालिका तहको अधिवेशनसमेत सम्पन्न भएको बताइएको छ। अन्य जिल्लामा पनि वडा अधिवेशन अन्तिम चरणमा पुगेको कांग्रेस नेताहरूले बताएका छन्।रुपन्देहीमा मात्रै १२५ भन्दा बढी वडाको अधिवेशन सम्पन्न भएको केन्द्रबाट खटिएका डा। दामोदर भुसालले जानकारी दिएका छन्। बाँकी वडाको अधिवेशन सकिएपछि पालिका तहको अधिवेशन अघि बढाउने तयारी भइरहेको उनले बताए।
कांग्रेसको आगामी केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै देउवा पक्षले संगठनात्मक गतिविधि तीव्र बनाएको हो। देउवा पक्षले मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेसँगै लुम्बिनीका १२ वटै जिल्लामा जिल्ला संयोजक तोकेर अधिवेशन तथा संगठन विस्तारका काम अघि बढाइएको छ।