काठमाडौं ।नेपाली कांग्रेसले पार्टीको केन्द्रीय पदाधिकारी संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ।
अब कांग्रेसमा उपसभापति र महामन्त्रीको संख्या तीन–तीन जना बनाइने भएको छ।सोमबार काठमाडौंको खुलामञ्चमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले दुवै पदको संख्या बढाउने निर्णय गरेको हो। हाल पार्टीको विधानअनुसार दुई जना उपसभापति र दुई जना महामन्त्री रहने व्यवस्था छ।केन्द्रीय समितिको निर्णयअनुसार विधान संशोधन गर्दै दुवै पदमा एक–एक जना थप गर्ने तयारी गरिएको छ। यससँगै कांग्रेसमा उपसभापति तीन र महामन्त्री तीन जना रहनेछन्।
यद्यपि केन्द्रीय समितिले गरेको निर्णय तत्काल लागू हुने छैन। प्रस्तावित विधान संशोधनलाई राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनको बन्दसत्रबाट अनुमोदन भएपछि मात्र यो व्यवस्था कार्यान्वयनमा आउनेछ।विधान संशोधनपछि पार्टीको केन्द्रीय पदाधिकारी संरचना थप विस्तार हुने भएको छ।