काठमाडौं ।नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति विकास कोइरालालाई पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा अघि बढाउनुपर्ने धारणा सार्वजनिक भएको छ।
कांग्रेस सभापति गगनकुमार थापाले पार्टीभित्र पनि खुलामञ्चको आवश्यकता रहेको र नेतृत्वलाई प्रश्न गर्न सक्ने वातावरण बन्नुपर्ने धारणा व्यक्त गरेपछि कोइरालाको राजनीतिक यात्रालाई जोडेर यस्तो धारणा सार्वजनिक गरिएको हो।कोइरालाले विद्यार्थी जीवनदेखि नै राजनीतिक संघर्ष र प्रतिकूल परिस्थितिको सामना गर्दै कांग्रेसको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको समर्थकहरूको भनाइ छ। विद्यार्थी राजनीतिबाट पार्टी नेतृत्वसम्मको यात्राका क्रममा विभिन्न चुनौती सामना गरे पनि उनले लोकतान्त्रिक मूल्य, राजनीतिक विचार र संगठनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिएको उनीहरूको दाबी छ।
चितवनमा कांग्रेसको संगठन विस्तार तथा नयाँ पुस्तालाई राजनीतिमा जोड्ने कार्यमा कोइरालाको भूमिका महत्वपूर्ण रहेको समर्थकहरूले बताएका छन्। युवालाई पार्टीमा केवल सहभागिताका लागि नभई नेतृत्व र निर्णय प्रक्रियामा समेत सक्रिय बनाउनुपर्ने उनको धारणा रहेको उनीहरूको भनाइ छ।बदलिँदो राजनीतिक परिवेश र नयाँ पुस्ताको अपेक्षाबीच कांग्रेसले पार्टीभित्र प्रश्न, संवाद र संगठन निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको समर्थकहरूले बताएका छन्। उनीहरूले संगठन निर्माणको अनुभव, लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता र युवासँगको सम्बन्धका आधारमा कोइरालालाई सहमहामन्त्रीको जिम्मेवारीमा अघि बढाउनुपर्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा नेतृत्व चयनको बहस चलिरहेका बेला कोइरालाको भूमिकालाई लिएर यस्तो धारणा सार्वजनिक भएको हो। समर्थकहरूले गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेसको रूपान्तरणको अभियानमा कोइरालाजस्ता संगठनको अनुभव भएका नेताको भूमिका महत्वपूर्ण हुने बताएका छन्।