काठमाडौं ।जर्मनीले युक्रेनको रक्षा क्षमता मजबुत बनाउन करिब १ अर्ब युरो बराबरको नयाँ सैन्य सहायता उपलब्ध गराउने भएको छ।
जर्मन चान्सलर फ्रेडरिक मर्जले आइतबार युक्रेनको राजधानी किएभ पुगेर सहायता प्याकेज घोषणा गरेका हुन्।जर्मन सरकारका अनुसार नयाँ सहायता मुख्यतः युक्रेनको हवाई सुरक्षा प्रणाली सुदृढ गर्न केन्द्रित हुनेछ। पछिल्लो समय ड्रोनसहित विभिन्न प्रकारका हवाई आक्रमणको सामना गरिरहेको युक्रेनलाई आफ्नो आकाशीय सुरक्षा थप प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले सहायता उपलब्ध गराउन लागिएको हो।
सहायता प्याकेजअन्तर्गत जर्मनीले जेट इन्जिनयुक्त ड्रोनलाई लक्षित गर्न सक्ने इन्टरसेप्टर प्रविधिको संयुक्त उत्पादनमा समेत सहयोग गर्ने जनाएको छ। चान्सलर मर्जले यस क्षेत्रमा विकसित भइरहेका नयाँ प्रविधिको प्रयोगबाट युक्रेनको हवाई प्रतिरक्षा क्षमता तुलनात्मक रूपमा छिटो बढाउन सकिने बताएका छन्।यसका अतिरिक्त जर्मनीले युक्रेनलाई लामो दूरीका हतियार, भू–उपग्रह प्रविधि र लडाकु ड्रोन उपलब्ध गराउने योजना पनि सार्वजनिक गरेको छ। यी सैन्य सामग्रीले युक्रेनको समग्र प्रतिरक्षा क्षमता थप बलियो बनाउने जर्मन सरकारको विश्वास छ।
सैन्य सहयोगसँगै जर्मनीले युक्रेनको ऊर्जा पूर्वाधार पुनःस्थापनाका लागि करिब ३५० मिलियन युरो थप आर्थिक सहायता दिने भएको छ। आगामी जाडोयाममा ऊर्जा आपूर्तिमा देखिन सक्ने चुनौतीलाई ध्यानमा राख्दै क्षतिग्रस्त ऊर्जा संरचनाको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम प्रयोग गरिने जनाइएको छ।युक्रेनका ऊर्जा संरचनामा भएको क्षतिका कारण आगामी जाडोमा ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने अवस्थाबीच जर्मनीको यो सहयोग महत्वपूर्ण मानिएको छ। सहयोगबाट क्षतिग्रस्त संरचना पुनः सञ्चालनमा ल्याउन तथा आवश्यक ऊर्जा पूर्वाधारको पुनर्निर्माणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।
चान्सलर मर्जले पदभार सम्हालेपछि युक्रेनको यो दोस्रो भ्रमण हो। भ्रमणका क्रममा दुई देशबीच सैन्य सुरक्षा, हवाई रक्षा र ऊर्जा पूर्वाधारमा सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको जनाइएको छ।नयाँ सहायता घोषणासँगै जर्मनीले युक्रेनको रक्षा क्षमता मजबुत बनाउन तथा युद्धका कारण प्रभावित ऊर्जा पूर्वाधार पुनःस्थापनामा आफ्नो सहयोगलाई निरन्तरता दिने संकेत गरेको छ।