काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रलाई बलियो बनाउन समाजका हरेक क्षेत्रमा खुला बहस र संवादको वातावरण आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार भृकुटीमण्डपस्थित खुलामञ्चमा सम्बोधन गर्दै थापाले खुलामञ्चलाई केवल भौतिक स्थानका रूपमा मात्र बुझ्न नहुने बताएका हुन्। उनका अनुसार यो राजनीतिक इतिहास, स्मृति र सार्वजनिक बहसको साझा थलोसमेत हो।संसद्मा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको प्रसंग उल्लेख गर्दै थापाले संसद्लाई पनि खुला र जीवन्त बहसको केन्द्र बनाउनुपर्ने बताए। प्रधानमन्त्री संसद्मा सम्मानपूर्वक उपस्थित भएर छलफलमा सहभागी हुने वातावरण नबनेसम्म संसद् पूर्ण रूपमा खुला भएको मान्न नसकिने उनको भनाइ थियो।
थापाले कांग्रेसको इतिहासमा खुलामञ्चले महत्वपूर्ण राजनीतिक संकल्प र अभियानको साक्षी बनेको उल्लेख गर्दै १५औँ महाधिवेशनबाट पनि पार्टीले नयाँ राजनीतिक संकल्पका साथ अघि बढ्नुपर्ने बताए।उनले राजनीतिक मतभेदलाई दबाउनेभन्दा सार्वजनिक रूपमा बहस गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए। देश र नागरिकबीच प्रत्यक्ष संवादका लागि पनि खुला मञ्च आवश्यक रहेको उनको भनाइ थियो।सामाजिक सञ्जालको प्रयोगबारे पनि थापाले नयाँ ढंगले सोच्नुपर्ने बताए। सामाजिक सञ्जाललाई गालीगलौज गर्ने माध्यमका रूपमा नभई तथ्य, विचार र तर्कका आधारमा बहस गर्ने सार्वजनिक मञ्चका रूपमा विकास गर्नुपर्ने उनले बताएका छन्।
पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको प्रसंगमा थापाले नेतृत्वमाथि प्रश्न उठाउँदा कारबाही गर्नेभन्दा प्रश्न र असहमतिलाई स्वागत गर्ने संस्कार आवश्यक रहेको बताए। पार्टीभित्र पनि विचार र मत राख्न पाउने खुला वातावरण हुनुपर्नेमा उनले जोड दिएका छन्।