काठमाडौं । महिलाको पहिचानलाई प्रायः परिवार, पेशा वा राजनीतिक भूमिकामध्ये कुनै एउटासँग जोडेर हेर्ने गरिन्छ।
तर समयसँगै महिलाको नेतृत्व र भूमिकाको परिभाषा पनि बदलिँदै गएको छ। यसको एउटा उदाहरण हुन्—नेपाली कांग्रेस, कास्की क्षेत्र नम्बर २ की नेत्री लक्ष्मी पाण्डे।पाण्डेको परिचय राजनीतिक कार्यकर्तामा मात्र सीमित छैन। अध्ययन, राजनीति, संगठन, सामाजिक सेवा, महिला उद्यमशीलता र खेलकुदजस्ता विभिन्न क्षेत्रमा सक्रिय रहँदै उनले आफ्नो छुट्टै पहिचान बनाएकी छन्।राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेकी पाण्डेले त्रिचन्द्र कलेजबाट समाजशास्त्रको समेत अध्ययन गरेकी छन्। उनको शैक्षिक पृष्ठभूमिले सामाजिक संरचना, राजनीति र समुदायका विषयलाई बुझ्ने आधार निर्माण गरेको देखिन्छ। अध्ययनलाई व्यवहारसँग जोड्दै उनी सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी छन्।
राजनीतिक संगठनतर्फ पाण्डे नेपाल महिला संघकी क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेर महिलालाई संगठनसँग जोड्ने तथा राजनीतिक सहभागिता बढाउने काममा सक्रिय छिन्। उनी नेपाली कांग्रेसकी निवर्तमान जिल्ला कोषाध्यक्ष तथा महाधिवेशन प्रतिनिधिसमेत हुन्।पाण्डेको सक्रियता राजनीतिसँग मात्रै जोडिएको छैन। तेक्वान्दो संघ गण्डकी प्रदेशकी उपाध्यक्षका रूपमा उनी खेलकुद क्षेत्रमा पनि संलग्न छिन्। यसका साथै महिला उद्यमशीलता र सामाजिक सेवाका गतिविधिमा समेत उनको सहभागिता रहँदै आएको छ।
यी विविध भूमिकाले महिलाको क्षमता र नेतृत्वलाई एउटै क्षेत्रमा सीमित गरेर हेर्न नहुने सन्देश दिन्छन्। राजनीति गर्ने महिलाले परिवार, सामाजिक सेवा वा अन्य क्षेत्रमा समय दिन सक्दैनन् भन्ने परम्परागत सोचलाई पाण्डेको यात्राले चुनौती दिएको देखिन्छ।महिलाको जीवनमा परिवार, अध्ययन, पेशा, व्यवसाय, सामाजिक जिम्मेवारी र राजनीतिक भूमिकाहरू एकअर्काका बाधक मात्र होइनन्। उचित व्यवस्थापन र अवसर पाए यी सबै क्षेत्रलाई समानान्तर रूपमा अघि बढाउन सकिने उनको यात्राले देखाउँछ।
नेपाली कांग्रेसले महिलाको राजनीतिक सहभागिता र समावेशितालाई निरन्तर उठाउँदै आएको छ। तर समावेशिता केवल प्रतिनिधित्वको संख्या बढाउने विषयमा सीमित नरही महिलालाई निर्णय प्रक्रिया, नेतृत्व र नीति निर्माणको तहसम्म पुर्याउने विषयसँग जोडिनुपर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण छ।महिलाको नेतृत्वमा उनीहरूले भोगेका सामाजिक अनुभव, परिवार र समुदायलाई बुझ्ने दृष्टिकोण, उद्यमशीलताको अनुभव तथा सामाजिक क्षेत्रमा गरेका कामले राजनीतिक निर्णय प्रक्रियालाई थप व्यवहारिक बनाउन सक्ने अपेक्षा गरिन्छ।
यही सन्दर्भमा लक्ष्मी पाण्डेको यात्रा एउटा बहुआयामिक राजनीतिक परिचयका रूपमा हेर्न सकिन्छ। अध्ययनदेखि संगठनसम्म, राजनीतिदेखि सामाजिक सेवासम्म र उद्यमशीलतादेखि खेलकुदसम्मको उनको सक्रियताले महिलाको नेतृत्वलाई एउटा भूमिकामा सीमित गर्न नहुने देखाउँछ।आजको राजनीतिमा आवश्यक नेतृत्व केवल पदमा आधारित नभई अनुभव, क्षमता र सामाजिक उत्तरदायित्वसँग जोडिनुपर्ने बहस भइरहेका बेला पाण्डेको यात्राले महिलाको नेतृत्वका सम्भावनालाई थप फराकिलो बनाएको छ।महिला केवल राजनीतिमा सहभागी हुने होइनन्, निर्णय गर्ने र नेतृत्व गर्ने तहमा पनि स्थापित हुन सक्छन् भन्ने सन्देश उनको यात्राले दिएको छ।