काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कुनै व्यक्तिलाई जोगाउने वा दोषी देखाउने उद्देश्यले लोकतान्त्रिक प्रणालीको दुरुपयोग गर्न नहुने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले लोकतन्त्रका मूल्य र मान्यतालाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्ने बताएका हुन्।उनले नेपाली कांग्रेसलाई आगामी केही वर्ष धैर्यपूर्वक अघि बढ्न आग्रह गरेका छन्। साथै, पार्टीका कार्यक्रममा प्रधानमन्त्रीको सहभागिता नदेखिएको विषयलाई लिएर भइरहेको आलोचनालाई अनावश्यक रूपमा ठूलो बनाउन नहुने उनको भनाइ थियो।
लामिछानेले पार्टी र सरकारको जिम्मेवारी फरक–फरक रूपमा बाँडिएको स्पष्ट पारे। पार्टी सञ्चालनको जिम्मेवारी आफूले सम्हाल्ने र सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्रीले पूरा गर्ने गरी काम भइरहेको उनले बताएका छन्।उनले पार्टीका गतिविधिमा प्रधानमन्त्री सहभागी नभएको विषयलाई राजनीतिक रूपमा अतिरञ्जित नगर्न आग्रह गर्दै सरकार र पार्टीका कामलाई आ–आफ्नो जिम्मेवारीअनुसार अघि बढाइएको बताए।