काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले निष्ठा र इमानदारीमा आधारित राजनीति गरेको भए आफू पनि कांग्रेसमा रहेको हुनसक्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले कांग्रेसले आफ्नो राजनीतिक शैली र कार्यप्रणालीमा सुधार गर्नुपर्ने सुझाव दिएका हुन्।उनले दुर्गम तथा पछाडि परेका समुदायका व्यक्तिलाई नेतृत्वमा आउने अवसर दिएको भए आफू कांग्रेसमै हुनसक्ने बताए। कांग्रेसले जनतामाझ विश्वास कायम राख्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा आफू प्रतिपक्षका रूपमा एक्लै उभिएको उल्लेख गर्दै लामिछानेले आफूलाई एक्लै रहन समस्या नभए पनि देश र लोकतन्त्रका विषयमा राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताए।सरकार परिवर्तनबारे भइरहेका चर्चातर्फ संकेत गर्दै उनले सरकार ढल्ने हल्ला गर्नेहरू नै अन्ततः निराश हुने टिप्पणी गरे। सरकार तत्काल वा चाडपर्वपछि ढल्ने दाबीहरूलाई उनले अस्वीकार गरे।
लामिछानेले लोकतन्त्रमाथि कुनै खतरा नरहेको दाबी गर्दै लोकतन्त्रको संरक्षण जनताले नै गर्ने बताए। साथै, सरकार परिवर्तनको माध्यम आन्दोलन नभई निर्वाचन हुनुपर्नेमा जोड दिँदै उनले अब चुनावमार्फत मात्रै सरकार परिवर्तन गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने बताएका छन्।