काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा आफ्नो नेतृत्वको सरकारमा मन्त्री बनेको स्मरण गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो मन्त्रिपरिषद्मा रहेका धेरै नेता अहिले विभिन्न राजनीतिक दलको नेतृत्वमा पुगेको बताएका छन्।उनले कांग्रेस सभापति गगन थापाले पार्टीको नेतृत्वमा नयाँ इतिहास निर्माण गरेको भन्दै प्रशंसा गरेका छन्। निरन्तर चलिआएको नेतृत्वको क्रमलाई तोड्दै थापाले कांग्रेसलाई नयाँ दिशातर्फ अघि बढाएको उनको भनाइ छ।
प्रचण्डले विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता नेताहरूको साथ र सहकार्यले गगन थापाको नेतृत्व सम्भव भएको बताएका छन्। आफ्नो सरकारमा स्वास्थ्य मन्त्री रहेका बेला थापाले सक्रियताका साथ काम गरेको पनि उनले स्मरण गरेका छन्।रवि लामिछाने पनि आफ्नो मन्त्रिपरिषद्मा मन्त्री बनेको उल्लेख गर्दै प्रचण्डले गगनले नेतृत्वमा ‘क्रम भंग’ गरे पनि रविले अझै त्यस्तो क्रम भंग गर्न बाँकी रहेको बताएका छन्। उनले रविलाई पनि नयाँ राजनीतिक क्रम निर्माण गर्न आग्रह गरेका छन्।
देश अहिले प्राकृतिक विपत्तिसहित जटिल राजनीतिक परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै प्रचण्डले कांग्रेसको महाधिवेशनले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।