काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछि पार्टी नयाँ ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले पुराना राजनीतिक दलको परम्परागत नेतृत्व र विचारले मात्रै बदलिँदो परिस्थितिको आवश्यकता पूरा गर्न नसक्ने बताएका छन्।उनले आफू माओवादीमा रहँदा नै राजनीतिक दलहरूमा रूपान्तरण र नयाँ नेतृत्व आवश्यक रहेको विषय उठाउँदै आएको स्मरण गरे। अहिले कांग्रेसमा नयाँ नेतृत्व आउनु र नयाँ राजनीतिक शक्ति उदाउनु आफूले त्यतिबेला उठाएको बहसकै निरन्तरता भएको उनको भनाइ थियो।
भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र कांग्रेसमा आएको नेतृत्व परिवर्तनलाई राजनीतिक परिवर्तनका रूपमा उल्लेख गर्दै यसले आफूलाई खुसी बनाएको बताएका छन् । शान्ति प्रक्रियामा प्रवेश गरेपछिको प्रसंग सुनाउँदै उनले एक विदेशी पत्रकारले कांग्रेस र कम्युनिस्ट वृत्तमा भविष्यको नेतृत्वबारे जिज्ञासा राख्दा आफूले कांग्रेसको भावी नेतृत्व गगन थापा हुनसक्ने जवाफ दिएको स्मरण गरे।उनले दक्षिण कोरिया र मलेसियालगायतका मुलुकले विकासमा हासिल गरेको प्रगतिबाट नेपालका पुराना राजनीतिक दलले पनि सिक्नुपर्ने बताएका छन्। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफ्नो कार्यकाल पूरा गरी सरकार सञ्चालन गर्न शुभकामना दिएका छन्।
भट्टराईले संघीयता, लोकतन्त्र र धर्मनिरपेक्षतालाई नेपालको संविधानका महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यी विषयमा कुनै किसिमको प्रतिगमन नगर्न आग्रह गरे। उनले संविधानको संरक्षणसँगै शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्नुपर्नेमा जोड दिएका छन्।