काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले सुशासन, संविधान र कानुनी शासनको सीमाभन्दा बाहिर गएर शासन सञ्चालन गर्ने प्रवृत्तिविरुद्ध बलियो राजनीतिक शक्ति आवश्यक रहेको बताएकी छन्।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले महाधिवेशनपछि पार्टीलाई जनताका हरेक प्रश्नको जवाफ दिन सक्ने अवस्थामा पुर्याउनुपर्नेमा जोड दिइन्।कांग्रेस केवल राजनीतिक दल मात्र नभई विचार र कार्यशैलीसमेत भएको उल्लेख गर्दै उनले पार्टी बीपी कोइरालाको विचारबाट निर्देशित रहेको बताइन्। सुशासन, संविधान र कानुनी शासनको पक्षमा कांग्रेसले आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
भुसालले जारी महाधिवेशनलाई पद प्राप्तिको प्रतिस्पर्धामा मात्र सीमित नगरी पार्टीले आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताइन्।कांग्रेसमाथि विभिन्न प्रश्न उठिरहेको उल्लेख गर्दै उनले ती प्रश्नको जवाफ खोज्ने गरी महाधिवेशनको बन्दसत्रमा गम्भीर छलफल हुनुपर्ने धारणा राखिन्। महाधिवेशनपछि पार्टीलाई अझ व्यवस्थित र उत्तरदायी बनाउने दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।