काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टी नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र राष्ट्रिय जनमोर्चा मसालसँग राजनीतिक सहकार्यका विषयमा समझदारी भइसकेको बताएका छन्।
आइतबार काठमाडौंमा नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले वामपन्थी तथा देशभक्त शक्तिहरूसँग सहकार्यका लागि निरन्तर संवाद भइरहेको जानकारी दिए। उनका अनुसार एमाले र मसालसँग सहकार्य गर्ने विषयमा समझदारी बनेको छ।प्रचण्डले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र अहिलेसम्म प्राप्त अधिकारको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।सरकारका नीति तथा निर्णयको सदनबाट आलोचना र खबरदारी भइरहेको उल्लेख गर्दै उनले अब सडकबाट समेत दबाब दिनुपर्ने आवश्यकता देखिएको बताए। सडकमा प्रभावकारी खबरदारी गर्न नसके पछिल्लो समय देखिएको ‘प्रतिक्रान्ति’को प्रवृत्तिलाई रोक्न कठिन हुने उनको भनाइ थियो।
यसैबीच, प्रचण्डले पर्याप्त प्राविधिक तयारी हुन नसकेका कारण यसअघि मङ्सिर ११ गतेका लागि तय गरिएको पार्टी महाधिवेशन निर्धारित मितिमा गर्न सम्भव नदेखिएको बताए। उनले यही साता बस्ने केन्द्रीय समितिको बैठकले महाधिवेशनको नयाँ मिति र कार्यतालिका तय गर्ने जानकारी दिए।पार्टीले दुईमहिने अभियानअन्तर्गत टोल तथा गाउँ तहसम्म पुगेर संगठन विस्तारको काम अघि बढाइरहेको पनि उनले बताए। सदस्यता नवीकरण तथा नयाँ सदस्य थप्ने लगायतका कामलाई महाधिवेशन तयारीकै रूपमा अगाडि बढाइएको उनको भनाइ छ।