काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु हुन लागेसँगै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।
महाधिवेशन उद्घाटन हुने खुलामञ्चसहित उपत्यकाका संवेदनशील तथा भीडभाड हुने क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सीआईबी र सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको छ।महाधिवेशनस्थलको सुरक्षा निगरानी बढाउन तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ। देशका विभिन्न ठाउँबाट आएका महाधिवेशन प्रतिनिधि बसेका होटल तथा शीर्ष नेताहरूको आवतजावत हुने क्षेत्रमा पनि विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, काठमाडौंका विभिन्न चेकपोस्टमा निगरानी बढाइएको छ। सुन्धारा, बागबजार, ठमेल र दरबारमार्गलगायत क्षेत्रमा पनि थप सुरक्षाकर्मी परिचालन गरिएको छ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन आइतबार दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने कार्यक्रम रहेको छ।