काठमाडौं । नेपाली कांग्रेसका तीन महिला नेतृले पार्टीको सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान केन्द्रीय कार्यसमितिमा रहेका प्रतिमा गौतम, ईश्वरी न्यौपाने र सीता गुरुङले १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।प्रतिमा गौतम २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् । उनी नेपाल विद्यार्थी संघकी पूर्वमहामन्त्रीसमेत हुन् ।
त्यस्तै, ईश्वरी न्यौपाने कांग्रेस संसदीय दलकी पूर्वसचेतक तथा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिकी पूर्वसभापति हुन् । उनी यसअघि पनि पटक–पटक कांग्रेसको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहिसकेकी छन् ।
उम्मेदवारी घोषणा गर्दै न्यौपानेले कांग्रेसलाई थप लोकप्रिय र बलियो संगठनका रूपमा विकास गर्दै देशकै प्रमुख राजनीतिक दल बनाउने अभियानमा आफूले भूमिका निर्वाह गर्ने बताएकी छन् । उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो पक्षमा मतदान गर्न आग्रहसमेत गरेकी छन् ।कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सीता गुरुङले पनि सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गुरुङ यसअघि प्रतिनिधिसभामा समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीबाट सांसद निर्वाचित भएकी थिइन् । २०७९ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनले सहरी विकासमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा आठ सहमहामन्त्रीको व्यवस्था छ । त्यसमध्ये एक पद महिलाका लागि आरक्षित गरिएको छ ।