काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ ।
महाधिवेशनको उद्घाटन दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने तय भए पनि त्यसअघि नै पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेता, महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको आवागमन बढेको छ ।महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि तथा कांग्रेसका सदस्यहरू पार्टी कार्यालय परिसरमा भेटघाट र छलफलमा व्यस्त देखिएका छन् । विभिन्न पदका आकांक्षीहरूले प्रतिनिधिसँग मत माग्दै प्रचार अभियानसमेत तीव्र बनाएका छन् ।
आज उद्घाटन समारोह सम्पन्न भएपछि भोलिदेखि खुलामञ्चमै बन्द सत्र सञ्चालन हुने कार्यक्रम छ । असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा देशका विभिन्न क्षेत्रसँगै विदेशस्थित जनसम्पर्क समितिबाट समेत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ ।महाधिवेशनलाई लिएर कांग्रेसभित्र नेतृत्व चयन र आगामी राजनीतिक दिशाबारे छलफल तथा गतिविधि तीव्र बनेका छन् ।