काठमाडौं । चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
सर्लाही क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि चयन भएका रिजालले पहिलोपटक पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेका हुन् ।रिजाल सर्लाही–४ बाट लगातार तेस्रोपटक महाधिवेशन प्रतिनिधि बनेका हुन् । कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक महासङ्घको महामन्त्रीसमेत रहेका उनले कला तथा कलाकारसँग सम्बन्धित विषयलाई राजनीतिक तहमा प्राथमिकताका साथ उठाउन आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन् ।
उनका अनुसार नेपाल विद्यार्थी सङ्घबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेदेखि निरन्तर पार्टीसँग जोडिएको आफ्नो राजनीतिक यात्रालाई अब केन्द्रीय तहमा पुर्याउने उद्देश्य छ । यही लक्ष्यका साथ १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गर्न लागेको रिजालले बताएका छन् ।उनले कलाकार तथा कला क्षेत्रका समस्या र मुद्दा नीतिगत तहमा प्रभावकारी रूपमा उठाउन पार्टीको केन्द्रीय भूमिकामा पुग्न आवश्यक रहेको धारणा राखेका छन् ।