काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् ।
काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उनले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीको विचार र संगठनलाई समयअनुकूल बनाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका हुन् ।तिवारी १४औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने सबैभन्दा कम उमेरका उम्मेदवारमध्ये एक थिए । राजनीतिक विश्लेषण तथा लेखनमा पनि सक्रिय उनी विद्यार्थी राजनीतिदेखि नै कांग्रेस सभापति गगन थापासँग निकट रहेर पार्टी गतिविधिमा संलग्न हुँदै आएका छन् ।
उम्मेदवारी घोषणा गर्दै तिवारीले बदलिएको राजनीतिक परिवेशअनुसार कांग्रेसको संगठनलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । उनले पार्टीलाई गाउँदेखि दुर्गम क्षेत्रसम्मका नागरिकसँग जोड्नुका साथै नयाँ पुस्तालाई कांग्रेसको वैचारिक राजनीतितर्फ आकर्षित गर्न आफूले महामन्त्रीमा दाबी गरेको स्पष्ट पारे ।उनका अनुसार कांग्रेसको मूल विचारको संरक्षणसँगै त्यसको सिर्जनात्मक व्याख्या र विस्तार अहिलेको आवश्यकता हो । उनले परम्पराको सम्मान गर्दै समयअनुसार विचारलाई परिमार्जन गरेर नयाँ पुस्तासँग जोड्नुपर्नेमा जोड दिए ।
तिवारीले पछिल्लो समय कांग्रेसको वैचारिक आधार चुनौतीमा परेको दाबी गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि पार्टी थप स्पष्ट वैचारिक दिशामा अघि बढ्नुपर्ने बताए । उनका अनुसार १५औँ महाधिवेशन कांग्रेसका लागि नयाँ राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसर बन्नुपर्नेछ ।उनले देशमा बढ्दै गएको अति दक्षिणपन्थी लोकप्रियतावादको प्रभावबाट लोकतान्त्रिक शक्तिलाई जोगाउन कांग्रेसले वैचारिक स्पष्टता कायम गर्नुपर्ने धारणा पनि राखे । महाधिवेशनबाट पार्टीको विचारलाई अझ स्पष्ट पार्दै संगठन र राजनीतिक कार्यदिशामा आवश्यक परिवर्तन ल्याउनुपर्ने उनको भनाइ छ ।