काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनले पार्टीको आगामी नेतृत्व तय गर्ने तयारी गरिरहँदा विभिन्न पदमा कसले दाबी गर्ने भन्ने विषय पनि क्रमशः खुल्दै गएको छ।
यही क्रममा कांग्रेसकी प्रमुख सचेतक तथा दैलेख–१ बाट प्रत्यक्ष निर्वाचित सांसद बासना थापाको नाम सह–महामन्त्री पदका लागि चर्चामा आएको छ। कांग्रेसभित्र नेतृत्वमा पुस्तान्तरण, संगठनमा नयाँ ऊर्जा र पार्टीलाई बदलिँदो राजनीतिक परिस्थितिअनुकूल अघि बढाउने बहस चलिरहेका बेला थापाको सम्भावित दावेदारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रत्यक्ष निर्वाचनबाट जनअनुमोदित भएर संसदमा पुगेकी थापा नयाँ पुस्ताकी प्रभावशाली महिला नेताका रूपमा पार्टीको केन्द्रीय जिम्मेवारीमा पुग्ने सम्भावित नेताको सूचीमा देखिएकी छन्। प्रमुख सचेतकको जिम्मेवारीमा रहेकी थापाले संसदमा जनसरोकारका विषय उठाउँदै आएकी छन्।
पार्टीको संसदीय भूमिकासँगै संगठन र राजनीतिक गतिविधिमा समेत सक्रिय रहँदै आएकाले सह–महामन्त्रीको जिम्मेवारीका लागि उनको नाम चर्चामा आउनुलाई कांग्रेसको भावी नेतृत्व संरचनासँग जोडेर हेर्न थालिएको छ।कांग्रेसको नेतृत्वमा नयाँ पुस्ताको सहभागिता बढाउने विषय पछिल्लो समय पार्टीभित्रै प्राथमिकतामा छ। सभापति गगनकुमार थापाले अघि सारेको पार्टी रुपान्तरण र नयाँ कांग्रेस निर्माणको अभियानसँग पनि नयाँ पुस्ताका नेताहरूको भूमिकालाई जोडेर हेरिएको छ।
यस्तो अवस्थामा बासना थापाजस्ता जननिर्वाचित र संसदीय अनुभव भएका नेताहरू केन्द्रीय पदमा आउनुले पुस्तान्तरणको बहसलाई संस्थागत रूप दिन सक्ने कांग्रेसका नेताहरूको बुझाइ छ।