काठमाडौं ।नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनमार्फत पार्टीको मौजुदा विधानमा आवश्यक परिवर्तन गर्ने तयारी थालेको छ।
महाधिवेशनमा विधान संशोधनसम्बन्धी प्रस्तावसमेत प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ।महाधिवेशनको तयारीबारे पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले कांग्रेसको आगामी महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित नहुने बताए। पार्टीलाई समयअनुकूल बनाउन संगठनात्मक संरचना र सञ्चालन प्रक्रियामा समेत सुधार आवश्यक रहेको उनको भनाइ छ।चालिसेका अनुसार जनताको अपेक्षाअनुसार पार्टीलाई अघि बढाउने उद्देश्यले विधानमा आवश्यक थपघट तथा संशोधनको प्रस्ताव महाधिवेशनमा लैजाने तयारी भइरहेको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुना सहभागी हुने
कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेतासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा गरेको जनाएको छ।प्रवक्ता चालिसेका अनुसार नेपालका प्रमुख राजनीतिक दलका नेताहरूलाई उद्घाटन सत्रमा सहभागी हुन आमन्त्रण गरिएको छ। अन्तर्राष्ट्रिय समुदायबाट पनि विभिन्न पाहुनाहरू नेपाल आउने क्रम जारी रहेको उनले बताए। केही पाहुना नेपाल आइसकेका छन् भने केही आउने क्रममा रहेको उनको भनाइ छ।कांग्रेस ‘सोसलिष्ट इन्टरनेसनल’को सदस्य रहेकाले उक्त संस्थाकी संयोजकसमेत महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेको जानकारी कांग्रेसले दिएको छ।
दैनिक दुईपटक पत्रकार सम्मेलन
महाधिवेशनका गतिविधि र निर्णयबारे सञ्चारमाध्यमलाई नियमित जानकारी गराउन कांग्रेसले विशेष सूचना व्यवस्थापनको तयारी गरेको छ।प्रवक्ता चालिसेका अनुसार महाधिवेशन अवधिभर प्रत्येक दिन दुईपटक पत्रकार सम्मेलन आयोजना गरिनेछ। पत्रकार सम्मेलनमार्फत महाधिवेशनसँग सम्बन्धित गतिविधि, निर्णय तथा अन्य आवश्यक जानकारी सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।