काठमाडौं ।विद्यालयमा विद्यार्थीको अत्यधिक चाप, शिक्षकको कमी तथा पुराना र जीर्ण भवनको समस्या समाधान गर्न माग गर्दै फ्रान्समा सुरु भएको उच्च माध्यमिक तहका विद्यार्थीको आन्दोलन थप उग्र बनेको छ।
बिहीबार विभिन्न सहरमा विद्यार्थीहरूले विद्यालयका प्रवेशद्वार अवरुद्ध गर्नुका साथै सडकमा फोहोरका कन्टेनर पल्टाएर आगजनी गरेका छन्। आन्दोलनका क्रममा केही स्थानमा प्रहरीसँग झडप र तोडफोडका घटना पनि भएका छन्।फ्रान्सको गृह मन्त्रालयका अनुसार बिहीबार मात्रै देशभरबाट १ हजार ९४९ जना प्रदर्शनकारी पक्राउ परेका छन्। प्रदर्शन नियन्त्रण गर्ने क्रममा ३०५ जना प्रहरी घाइते भएको मन्त्रालयले जनाएको छ।देशभरका करिब ३ हजार ७०० उच्च माध्यमिक विद्यालयमध्ये १ हजार २७ वटा विद्यालय आन्दोलनबाट प्रभावित भएको सरकारी तथ्यांक छ। तीमध्ये २२२ विद्यालयका प्रवेशद्वारमा विद्यार्थीहरूले अवरोध गरेका थिए।पेरिस आसपासका क्षेत्रमा मात्रै करिब ५० विद्यालयमा झडप, हिंसा र तोडफोड भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
विद्यालयका कर्मचारी र पत्रकारमाथि पनि आक्रमण
प्रदर्शनका क्रममा केही विद्यालयका प्रधानाध्यापक तथा कर्मचारीमाथि समेत दुर्व्यवहार भएको स्थानीय प्रशासन र शिक्षक संगठनका प्रतिनिधिहरूले बताएका छन्।मार्सेइमा एक विद्यालयका प्रधानाध्यापक र उनका सहायकमाथि पेट्रोल छर्किएको आरोप छ। घटनास्थलमा रिपोर्टिङ गरिरहेका एम६ टेलिभिजनका पत्रकारसमेत आक्रमणमा परेको स्थानीय अधिकारीहरूले बताएका छन्।नान्टेसमा प्रदर्शनका क्रममा विद्यालयको प्रवेशद्वारमा आगलागी भएपछि दमकल परिचालन गरिएको थियो। स्ट्रासबर्गमा सम्भावित हिंसा रोक्न ट्राम सेवा बन्द गरिएको थियो भने टुलुजमा सयौँ युवा सडक तथा ट्रामको मार्गमा पुगेका थिए।
हिंसाका लागि वामपन्थी समूहलाई आरोप
फ्रान्सका गृह मन्त्री लरेन्ट नुनेजले आन्दोलनका क्रममा भएको हिंसाको आलोचना गर्दै त्यसलाई नियन्त्रणबाहिरको हिंसा भएको बताएका छन्।प्रधानमन्त्री सेबास्टियन लेकोर्नुको कार्यालयले पनि केही हिंसात्मक घटनामा कट्टरपन्थी वामपन्थी समूहको संलग्नता रहेको गुप्तचर सूचनाको आधारमा दाबी गरेको छ।तर वामपन्थी दल ला फ्रान्स इन्सुमिजका नेता जाँ–लुक मेलाँसोंले सरकारको आरोप अस्वीकार गरेका छन्। उनले यस्तो सूचना कुन गुप्तचर निकायबाट आएको हो भन्नेबारे सरकारसँग प्रश्न गरेका छन्।
के मागिरहेका छन् विद्यार्थी
विद्यार्थीहरूको आन्दोलन विद्यालयको दैनिक व्यवस्थापनदेखि भौतिक पूर्वाधारसम्मका समस्यासँग जोडिएको छ। उनीहरूले कक्षाकोठामा विद्यार्थी संख्या घटाउनुपर्ने, पर्याप्त शिक्षक उपलब्ध गराउनुपर्ने तथा जीर्ण विद्यालय भवन सुधार गर्नुपर्ने माग राखेका छन्।यस वर्षको गर्मीमा अत्यधिक तापक्रमका कारण कतिपय विद्यालयका कक्षाकोठा असहज बनेपछि पनि विद्यार्थी असन्तुष्ट बनेका थिए। केही विद्यार्थीले विद्यालयमा पर्याप्त शौचालय, खानेपानी, क्यान्टिन, बजेट तथा निरीक्षकको समेत अभाव रहेको बताएका छन्।स्ट्रासबर्गमा प्रदर्शनमा सहभागी एक १७ वर्षीय विद्यार्थीका अनुसार कतिपय कक्षामा ३५ जनासम्म विद्यार्थी राखिन्छन् र गर्मीका बेला कक्षाकोठाको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्दा पढ्न निकै कठिन हुने गरेको छ।
विश्वविद्यालयका विद्यार्थी पनि आन्दोलनमा
उच्च माध्यमिक तहका विद्यार्थीको आन्दोलनमा विश्वविद्यालयका विद्यार्थीसमेत सहभागी भएका छन्। विद्यार्थी संगठनका अनुसार बिहीबार करिब ३० विश्वविद्यालयका प्रवेशद्वार अवरुद्ध गरिएको थियो।यसैबीच, प्रदर्शनका क्रममा तीन विद्यार्थीमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लागेपछि गृह मन्त्रालयले घटनाबारे आन्तरिक अनुसन्धान सुरु गरेको जनाएको छ।फ्रान्समा बढ्दो महँगी र इन्धनको मूल्य वृद्धिबाट उत्पन्न सामाजिक असन्तुष्टिको पृष्ठभूमिमा विद्यार्थी आन्दोलन थप चर्किएको हो। आगामी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा विद्यालय तथा सार्वजनिक सेवासँग सम्बन्धित मागले सरकारमाथि थप दबाब सिर्जना गरेको छ।