काठमाडौं ।इजिप्टमा स्वतन्त्र सञ्चारमाध्यम मात्सादाससँग आबद्ध ६ जना पत्रकार पक्राउ परेका छन्।
उनीहरूमाथि प्रतिबन्धित मुस्लिम ब्रदरहुडसँग सम्बन्ध रहेको र विदेशी रकम लिएर अनलाइन माध्यममा झुटा समाचार तयार पारेको आरोप लगाइएको छ।इजिप्टका अधिकारीहरूले पक्राउ परेका पत्रकारहरू मुस्लिम ब्रदरहुडको कथित ‘मिडिया कमिटी’सँग जोडिएको दाबी गरेका छन्। तर मात्सादासका सहसंस्थापक अब्देलरहमान मन्सुरले सरकारी आरोप अस्वीकार गरेका छन्। उनका अनुसार पक्राउ परेका पत्रकारहरूका परिवारलाई समेत उनीहरूलाई कहाँ राखिएको छ भन्ने जानकारी दिइएको छैन।
मन्सुरले पत्रकारहरूलाई तत्काल र सकुशल रिहा गर्न माग गरेका छन्। उनका अनुसार पत्रकारहरू सोमबार र मङ्गलबार विभिन्न स्थानबाट पक्राउ परेका हुन्। पक्राउका क्रममा उनीहरूका मोबाइल फोन र कम्प्युटरसमेत नियन्त्रणमा लिइएको बताइएको छ।मात्सादासले इजिप्टसहित विभिन्न अरब देशमा खोजमूलक पत्रकारिता गर्दै आएको छ। इजिप्टमा यसको वेबसाइट पहुँचमा रोक लगाइएको भए पनि फेसबुकमा यसको ठूलो संख्यामा फलोअर रहेको बताइएको छ।
व्यक्तिगत अधिकारका लागि इजिप्टियन इनिसिएटिभले पक्राउ परेका पत्रकारहरूलाई परिवार र कानुनी प्रतिनिधिसँग सम्पर्क गर्न नदिइएको जनाएको छ।यस घटनाप्रति ह्युमन राइट्स वाच र रिपोर्टर्स विदाउट बोर्डर्ससहित ८० भन्दा बढी अधिकारवादी तथा नागरिक समाज संस्थाले आपत्ति जनाउँदै पत्रकारहरूलाई रिहा गर्न माग गरेका छन्।सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई सेनाले सत्ताबाट हटाएपछि इजिप्टले मुस्लिम ब्रदरहुडलाई आतङ्कवादी संगठन घोषणा गरेको थियो। त्यसयता सरकारका आलोचक तथा पत्रकारमाथि उक्त संगठनसँग सम्बन्धित रहेको वा गलत सूचना फैलाएको आरोपमा कारबाही हुने गरेको अधिकारवादी संस्थाहरूको भनाइ छ।