काठमाडौं । नेपालमा आयोजना हुन लागेको आइसिसी यु–१९ महिला विश्वकप र नेपाल प्रिमियर लिग (एनपिएल)लाई लक्षित गर्दै क्रिकेट मैदान तथा आवश्यक पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आगामी पुसमा पहिलोपटक नेपालमा आयोजना हुन लागेको आइसिसी यु–१९ महिला विश्वकप र कात्तिकदेखि सुरु हुने एनपिएलको तेस्रो संस्करणका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा स्तरोन्नतिको काम भइरहेको छ। क्यानका उपाध्यक्ष रोशनबहादुर सिंहले अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यानमा राखेर मैदानको व्यवस्थापन र पूर्वाधार सुधारलाई प्राथमिकता दिइएको जानकारी दिए। उनका अनुसार एनपिएलका अघिल्ला संस्करणमा देखिएका दर्शक व्यवस्थापन तथा अन्य समस्यालाई यसपटक सुधार गर्ने तयारी गरिएको छ।
दर्शकको सहजताका लागि पार्किङ, बाइक स्ट्यान्डलगायतका व्यवस्थापनलाई व्यवस्थित बनाउने काम भइरहेको उनले बताए। खेल हेर्न आउने दर्शकलाई कहाँ–कहाँ समस्या हुन सक्छ भन्ने पहिचान गरी त्यसअनुसार सुधारका काम अघि बढाइएको उनको भनाइ छ। यु–१९ महिला विश्वकपका खेल टियु र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। मूलपानीको तुलनामा टियु मैदानमा बढी खेल हुने क्यानले जनाएको छ। प्रतियोगितालाई लक्षित गर्दै मैदानमा प्यारापिट, टोलीका लागि विश्रामस्थल तथा आइसिसी, एसिसी र खेलाडीका अभिभावकका लागि आवश्यक भिआइपी संरचना निर्माण भइरहेको छ।
यद्यपि, मूलपानी क्रिकेट मैदानको निर्माण तथा स्तरोन्नतिको काम लामो समयदेखि जारी रहे पनि पूर्ण रूपमा सम्पन्न हुन नसकेको भन्दै उपाध्यक्ष सिंहले सरकारको ध्यानाकर्षण गराएका छन्। उनले मैदान निर्माणलाई शीघ्र सम्पन्न गर्न सरकार तथा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने बताए। नेपालमा अन्तर्राष्ट्रियस्तरका थप क्रिकेट मैदान निर्माण गर्न सके भविष्यमा विश्वकप, एसिया कप, एसिसी प्रिमियर कप तथा विश्वकप छनोटजस्ता ठूला प्रतियोगिता आयोजना गर्न सहज हुने क्यानको धारणा छ।
ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना हुँदा क्रिकेटको विकाससँगै आर्थिक गतिविधिमा समेत योगदान पुग्ने भएकाले संघीय सरकार, स्थानीय तह र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उपाध्यक्ष सिंहले बताए। मूलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न भएपछि नेपालको क्रिकेट पूर्वाधार थप मजबुत हुने र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने क्षमता बढ्ने क्यानको अपेक्षा छ।