काठमाडौं ।राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सांसद श्रेष्ठले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि विकास निर्माण र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरे।
सरकारको काम गर्ने शैली र कार्यसम्पादनप्रति जनताको विश्वास कमजोर हुँदै गएको उनको दाबी छ। संसदीय व्यवस्थामा सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने भए पनि संसद्मा उठाइएका महत्वपूर्ण विषयमा सरकारले पर्याप्त जवाफ नदिएको उनले आरोप लगाए।विकास निर्माण, सुशासन तथा जनसरोकारका विषयमा संसद्मा उठ्ने प्रश्नबाट सरकार पन्छिन खोजेको श्रेष्ठको भनाइ थियो। उनले संसद्लाई प्रभावकारी रूपमा सहभागी नगराई अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको भन्दै सरकारको आलोचना गरे।
उनले अघिल्ला सरकारका कमजोरी र गल्ती देखाएर मात्रै वर्तमान सरकार आफ्नो जिम्मेवारीबाट उम्कन नमिल्ने बताए। सरकार गठन भएपछि जनताले महसुस गर्ने गरी नयाँ र परिणाममुखी काम के भयो भन्ने प्रश्नसमेत उनले उठाए।विगतका सरकारलाई दोष दिनुभन्दा वर्तमान सरकारले जनताको अपेक्षा पूरा गर्ने दिशामा ठोस काम गर्नुपर्नेमा जोड दिँदै सांसद श्रेष्ठले सरकारको ध्यान परिणाममुखी कामतर्फ केन्द्रित हुनुपर्ने बताए।