काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उडिरहेको विमानमा सह–पाइलटसँग भएको संघर्षका क्रममा घाइते भएका भारतीय क्याप्टेन स्मित मच्छरको साहसको प्रशंसा गरेका छन्।
मोदीले उनको योगदानलाई ‘नायक’को संज्ञा दिँदै कठिन परिस्थितिमा पनि यात्रुहरूको जीवन जोगाउन देखाएको दृढताको सराहना गरेका हुन्।दुबईबाट तेल अभितर्फ उडेको फ्लाई दुबईको विमानमा क्याप्टेन मच्छर र सह–पाइलटबीच विमानको नियन्त्रणलाई लिएर संघर्ष भएको थियो। घटनाका क्रममा क्याप्टेन घाइते भए पनि विमान सुरक्षित रूपमा अवतरण गरिएको थियो। एयरलाइन्सका अनुसार विमानमा रहेका १७४ यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित छन्। सञ्चारमाध्यमका अनुसार यात्रुमध्ये १६६ जना इजरायली नागरिक थिए।
मोदीले सामाजिक सञ्जालमार्फत क्याप्टेन मच्छरले गम्भीर चोटका बाबजुद असाधारण साहस देखाउँदै अन्य यात्रुको सुरक्षा सुनिश्चित गरेको उल्लेख गरेका छन्। उनको प्रयासले ठूलो दुर्घटना टार्न र धेरैको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको मोदीको भनाइ छ। उनले क्याप्टेन मच्छरको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि घटनामा क्याप्टेन मच्छरले देखाएको साहसको प्रशंसा गरेका थिए। घाइते अवस्थामा समेत उनले विमानलाई सम्भावित ठूलो दुर्घटनाबाट जोगाउन संघर्ष गरेको नेतान्याहुको भनाइ थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार ३० वर्षीय मच्छर मुम्बईका हुन्। उनको उपचारका क्रममा अभिभावक साउदी अरेबिया पुगेका छन्। मच्छरसँग बोइङ–७३७ विमान उडानको १३ वर्षभन्दा बढी व्यावसायिक अनुभव रहेको बताइएको छ। उनी सन् २०२२ देखि फ्लाई दुबईमा कार्यरत छन् भने यसअघि स्पाइसजेटमा समेत काम गरेका थिए।मच्छरले सन् २०२५ मा एक पोडकास्टमा आफू पाइलट बन्ने यात्राबारे बताएका थिए। परिवारको कपडा व्यवसायमा सहयोग गर्न व्यवस्थापन अध्ययन गरिरहेका बेला एउटा सेमिनारमा सहभागी भएपछि उड्डयन क्षेत्रमा रुचि बढेको उनले बताएका थिए।आफ्नो पहिलो व्यावसायिक उडानलाई चुनौतीपूर्ण अनुभवका रूपमा स्मरण गर्दै उनले उड्डयन क्षेत्रमा काम गर्दा दबाब व्यवस्थापन गर्न सिकेको बताएका थिए। उनका अनुसार उडानजस्तो क्षेत्रमा अत्यधिक तनावले काममा सहयोग नगर्ने भएकाले परिस्थितिलाई संयमित रूपमा सामना गर्नुपर्ने हुन्छ।