काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको यात्रुवाहक विमानमा पाइलटमाथि आक्रमण भएपछि विमानलाई आपत्कालीन रूपमा साउदी अरबतर्फ मोडिएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनामा एक पाइलटले अर्का पाइलटमाथि आक्रमण गरेको र विमानलाई दुर्घटनातर्फ लैजाने प्रयास गरेको देखिएको बताएका छन्। घटनापछि आक्रमणमा संलग्न भनिएका पाइलटलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको नेतान्याहुले बताएका छन्। घटनाका क्रममा विमान केही समयमै करिब १७ हजार फिट तल झरेको थियो। त्यसपछि विमानलाई साउदी अरबको तबुकतर्फ मोडिएको थियो।
यात्रुहरूले चालक दलका सदस्यलाई सहयोग गर्दै स्थिति नियन्त्रणमा लिन भूमिका खेलेका थिए। पछाडिको भागमा रहेका अन्य पाइलटहरू अगाडि आएर विमान अवतरण गराएका थिए। इजरायली अधिकारीका अनुसार आक्रमणमा परेका पाइलट संयुक्त अरब इमिरेट्स (यूएई) का नागरिक हुन्।घटनापछि यात्रुहरूलाई साउदी अरबबाट अर्को उडानमार्फत इजरायल फर्काइएको छ। विमान तेल अभिभस्थित बेन गुरियन विमानस्थलमा अवतरण गरिसकेको जनाएको छ। इजरायलका राष्ट्रपति इसाक हर्जोगले घटनाका क्रममा यात्रुहरूको सुरक्षाका लागि भूमिका निर्वाह गर्ने व्यक्तिहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले कठिन परिस्थितिमा देखाइएको साहसका कारण ठूलो दुर्घटना टरेको बताएका छन्।