काठमाडौं ।बीसौँ एसियाली खेलकुदमा कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ।
बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टोलीलाई समर्थक तथा खेलकुद क्षेत्रका प्रतिनिधिले स्वागत गरेका छन्।प्रतियोगिताको सेमिफाइनलमा नेपाल भारतसँग अठचालीस–चौबीस अङ्कले पराजित भएको थियो। सेमिफाइनलमा रोकिए पनि नेपालले कांस्य पदक हात पारेको हो।स्वदेश फर्किएपछि नेपाली टोलीकी कप्तान मानमती विष्टले फाइनल पुग्ने लक्ष्य रहे पनि सेमिफाइनलमा बलियो भारतसँग प्रतिस्पर्धा गर्नुपरेकाले खेल निकै चुनौतीपूर्ण बनेको बताउनुभयो। ठूलो अन्तर्राष्ट्रिय मञ्चमा यसअघि जितेको पदकलाई निरन्तरता दिन सक्नु टोलीका लागि महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ।
रणनीति योजनाअनुसार पूर्ण रूपमा सफल हुन नसके पनि प्राप्त कांस्य पदकबाट टोली सन्तुष्ट रहेको कप्तान विष्टले बताउनुभयो।नेपालमा आफ्नै कभर्ड हल र कबड्डीका लागि आवश्यक पूर्वाधारको अभाव रहे पनि प्रतियोगिताभन्दा करिब छ महिनाअघिदेखि खेलाडीहरूले यी कठिनाइलाई पन्छाएर प्रशिक्षण र पदक जित्ने लक्ष्यमा ध्यान केन्द्रित गरेको उहाँले उल्लेख गर्नुभयो।प्रतियोगिताको समूह चरणमा नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग हार बेहोरेको थियो। त्यसपछि श्रीलङ्कालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो।भारतसँगको हारपछि नेपालले कांस्य पदकमै चित्त बुझाएको हो।