काठमाडौं ।इरानमा भएको सरकारविरोधी प्रदर्शनसँग सम्बन्धित मुद्दामा दुई जनालाई मृत्युदण्डको फैसला सुनाइएको छ।
इरानी न्यायपालिकाका अनुसार मशाद सहरमा भएको प्रदर्शनका क्रममा चार सुरक्षाकर्मीको हत्या गरेको आरोपमा अली हेममती र माजिद निक–अन्डिस दोषी ठहर भएका हुन्।न्यायपालिकासँग सम्बन्धित मिजान अनलाइनका अनुसार उनीहरूले प्रदर्शनका क्रममा पसल, बैंक तथा बसमा आगजनी गर्नुका साथै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोप पनि लागेको थियो। सर्वोच्च अदालतबाट सजाय सदर भएपछि बुधबार उनीहरूलाई मृत्युदण्ड दिइएको जनाइएको छ।
गत वर्षको डिसेम्बर अन्त्यतिर आर्थिक असन्तुष्टिबाट सुरु भएको प्रदर्शन विस्तार हुँदै सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो। जनवरी ८ र ९ मा आन्दोलन थप चर्किएको बताइएको छ।इरानी अधिकारीहरूले हिंसात्मक घटनामा अमेरिका र इजरायलको संलग्नता रहेको आरोप लगाउँदै तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको दाबी गरेका छन्। तर केही गैरसरकारी संस्थाहरूले सुरक्षा निकायले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको आरोप लगाएका छन्।
यसैबीच, इरानमा पछिल्लो समय गिरफ्तारी र मृत्युदण्डका घटनामा वृद्धि भएको मानवअधिकार संस्थाहरूले बताएका छन्। इरान ह्युमन राइट्स तथा टुगेदर अगेन्स्ट द डेथ पेनाल्टीका अनुसार सन् २०२५ मा इरानमा कम्तीमा १ हजार ६३९ जनालाई मृत्युदण्ड दिइएको थियो।एम्नेस्टी इन्टरनेसनलका अनुसार मृत्युदण्ड कार्यान्वयनको संख्यामा चीनपछि इरान विश्वकै उच्चमध्ये एक रहेको छ।