काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को निर्वाचन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ।
क्षेत्र नम्बर २ का विभिन्न पदका उम्मेदवारहरूले निर्वाचन प्रक्रिया पारदर्शी नभएको र आफूहरूलाई भ्रामक सूचना दिइएको आरोप लगाउँदै बाँकी प्रक्रिया अघि बढाउन माग गरेका छन्। यससम्बन्धी निवेदन बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन कार्यालय, सानेपामा दर्ता गरिएको हो।उम्मेदवारहरूले असोज १२ गतेको निर्धारित कार्यतालिकाअनुसार आवश्यक कागजात बुझाउने, शुल्क तिर्ने तथा उम्मेदवारी दर्तालगायतका प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम उम्मेदवारको नामावली सार्वजनिक हुनुपर्ने बताएका छन्। तर, सहमतिको प्रयास गर्ने भन्दै नामावली प्रकाशन रोकिएको उनीहरूको दाबी छ।
उनीहरूले कुनै पनि उम्मेदवारसँग औपचारिक सहमति नगरी असोज १२ गते साँझ निर्वाचन प्रक्रिया सम्पन्न भएको भन्दै विद्युतीय माध्यमबाट सूचना प्रसारण गरिएको आरोप पनि लगाएका छन्।निवेदनमा यस्तो सूचना कांग्रेसको विधान, निर्वाचनसम्बन्धी व्यवस्थासहित प्रचलित कानुनअनुकूल नभएको दाबी गर्दै त्यसलाई सच्याउन माग गरिएको छ।उम्मेदवारहरूले रोकिएको निर्वाचन प्रक्रिया जिल्ला निर्वाचन समितिमार्फत पुनः सञ्चालन गरी निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिसँग आग्रह गरेका छन्।
निवेदनमा महाधिवेशन प्रतिनिधिका विभिन्न समूह तथा पदका उम्मेदवारहरूले आफ्नो नाम, पद र सम्पर्क विवरणसहित हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा प्रकाश थापा, जयकुमार लामा, निराजन लुइँटेल, महेशराज पौडेल, विजय गौतम, रितेन ढकाल, अनिता बजगाईं, उद्धवप्रसाद नेपाल र सहदेव तिमल्सिनालगायत रहेका छन्।

