काठमाडौं ।पश्चिमी अस्ट्रेलियाको जेराल्डटन क्षेत्रमा गोली प्रहारको घटना भएपछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
घटनापछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।प्रहरीका अनुसार बुधबार बिहान करिब १२ः५० बजे जेराल्डटन आसपास गोली चलेको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै आपत्कालीन तथा सुरक्षा टोली घटनास्थल पुगेका थिए। जेराल्डटन पर्थबाट करिब ३७० किलोमिटर उत्तरतर्फ पर्छ।घटनास्थलमा प्रहरीले ३२ वर्षीय पुरुषलाई गोली लागेको अवस्थामा फेला पारेको थियो। उनलाई गम्भीर चोट लागेको भए पनि अवस्था तत्काल जीवन जोखिममा नरहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइएको छ।
घटनापछि प्रहरीले सम्भावित संलग्न व्यक्तिको खोजी गर्दै आसपासको क्षेत्रमा सुरक्षा अभियान सञ्चालन गरेको थियो। स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गर्दै प्रहरीले शंकास्पद गतिविधि देखिए तत्काल जानकारी दिन अनुरोध गरेको थियो।प्रहरीले बुधबार बिहान करिब १०ः३० बजे जेराल्डटनको पूर्वी क्षेत्रमा पाँच जनालाई पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेकाहरूको भूमिकाबारे अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।