काठमाडौं ।परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले दिएको सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति र चासो बढाएको बताएका छन्।
बुधबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्रीको सम्बोधनप्रति अन्तर्राष्ट्रिय स्तरमा चासो देखिएको दाबी गरे। उनका अनुसार राजनीतिक परिवर्तनपछिको नयाँ परिस्थितिमा नेपालले विश्व समुदायसामु आफूलाई कसरी प्रस्तुत गर्छ भन्ने विषयमा विशेष ध्यान केन्द्रित भएको थियो।खनालले महासभाका क्रममा प्रधानमन्त्रीको सम्बोधन संयुक्त राष्ट्रसंघसँग सम्बन्धित सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा धेरै हेरिएका सम्बोधनमध्ये परेको बताए। सम्बोधनपछि भएका विभिन्न भेटवार्तामा समेत नेपालले उठाएका विषयबारे अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले चासो व्यक्त गरेको उनको भनाइ छ।
उनका अनुसार महासभाको क्रममा नेपालले जलवायु परिवर्तन, जलवायु वित्त तथा न्यायसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाएको थियो। हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण हिउँ पग्लिने क्रम तीव्र हुनु तथा जलवायुजन्य विपद् बढ्दै जानुलाई नेपालले विकास र राष्ट्रिय सुरक्षासँग जोडिएको चुनौतीका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै आएको उनले बताए।परराष्ट्रमन्त्री खनालले महासभामा नेपालको सहभागिताले जलवायु संकटलगायत राष्ट्रिय सरोकारका विषयलाई अन्तर्राष्ट्रिय बहसमा थप स्पष्ट रूपमा राख्ने अवसर दिएको बताए।