काठमाडौं।नेकपा एमालेका सांसद डा. पुष्पराज कँडेलले सरकारले अघि सारेको ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’प्रति आपत्ति जनाएका छन्।
उनले विधेयक कानुनी मान्यताविपरीत रहेको र यसबाट दलगत स्वार्थ पूरा गर्न खोजिएको आरोप लगाए।प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै कँडेलले यस्तो कानुनी प्रक्रियाले सुशासन र राज्य सञ्चालनमा स्थायित्व ल्याउनेभन्दा थप अन्योल सिर्जना गर्ने बताए। उनले सर्वोच्च अदालतका विगतका फैसलाहरूले समेत निष्क्रिय भएको अध्यादेशपछि सम्बन्धित पुरानो कानुनी व्यवस्था स्वतः लागू हुने सिद्धान्त स्थापित गरिसकेको उल्लेख गरे।
सीके राउतसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट भएको नजिरलाई उदाहरण दिँदै उनले अध्यादेश निष्क्रिय भएपछि पुरानो कानुन पुनः प्रभावमा आउने अवस्थामा त्यसलाई फेरि विधेयकमार्फत ब्युँताउन खोज्नुको औचित्यमाथि प्रश्न उठाए।कँडेलले सरकार परिवर्तन वा राजनीतिक स्वार्थअनुसार केही समयको अन्तरालमै कानुनका व्यवस्था हटाउने र पुनः सक्रिय बनाउने प्रवृत्तिले कानुनी स्थायित्व कमजोर पार्ने बताए। उनले पुरानै व्यवस्था फर्काउने हो भने त्यससँग जोडिएका पुराना नियुक्ति र संस्थागत संरचनाबारे पनि समान आधारमा सोच्नुपर्ने तर्क गरे।
उनले सरकार स्थायित्व र सुशासनको प्रतिबद्धतासहित अघि बढेको भए पनि यस्ता निर्णयले लगानीको वातावरण र अर्थतन्त्रमा समेत असर पर्न सक्ने चेतावनी दिए। साथै, आफूलाई जानकार र सक्षम नेतृत्वका रूपमा प्रस्तुत गर्दै सत्तामा पुगेकाहरूबाटै कानुनी प्रक्रियामाथि प्रश्न उठ्ने काम हुनु दुःखद भएको टिप्पणी गरे।