काठमाडौं।प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणबारे संसद्लाई पर्याप्त जानकारी नदिएको भन्दै प्रतिनिधिसभाको बैठकमा प्रश्न उठेको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा संसद्लाई जानकारी गराउने संसदीय अभ्यास रहेको उल्लेख गर्दै त्यसको पालना नभएको बताइन्।उनका अनुसार प्रधानमन्त्री विदेश जानुअघि मात्रै नभई भ्रमणबाट फर्किएपछि समेत त्यहाँ भएका भेटघाट, छलफल र राखिएका धारणा सम्बन्धमा सदनलाई जानकारी गराइनुपर्थ्यो।
सांसद हमालले सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्रीको विदेश भ्रमणसँग जोडिएका विषयमा सदनमा स्पष्ट जानकारी र जवाफ आउनुपर्ने माग गरिन्।उनले प्रधानमन्त्रीको भ्रमण तथा अन्तर्राष्ट्रियस्तरमा भएका छलफल सार्वजनिक चासोका विषय भएकाले संसद्लाई आवश्यक जानकारी उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन्।