काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि पदका लागि युवा नेता तथा इन्जिनियर निरोज लामिछानेले उम्मेदवारी दर्ता गराएका छन्।
लामिछानेले ३५ वर्षमुनिको युवा खुला समूहबाट महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गरेका हुन्। इन्जिनियरिङ क्षेत्रमा समेत अनुभव रहेका लामिछाने पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय युवा नेताका रूपमा परिचित छन्। युवा पुस्ताको पार्टीभित्र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको लामिछानेले बताएका छन्। उनका अनुसार अहिलेको पुस्ताको आवश्यकता र अपेक्षालाई पार्टीको नीति तथा संगठन सञ्चालनसँग जोड्न युवाको सक्रिय भूमिका आवश्यक छ।
लामिछानेले युवालाई केवल महाधिवेशन प्रतिनिधि वा कुनै निश्चित पदमा सीमित नराखी नीति निर्माण, संगठन सञ्चालन र नेतृत्व विकासका विभिन्न तहमा सहभागी गराउनुपर्नेमा जोड दिएका छन्। पार्टीको भविष्य निर्माणमा नयाँ पुस्ताको क्षमता र विचारलाई उचित स्थान दिनुपर्ने उनको धारणा छ। बदलिँदो राजनीतिक परिवेशसँगै नेपाली कांग्रेसलाई थप व्यवस्थित, जिम्मेवार र प्रभावकारी संगठनका रूपमा अघि बढाउन युवा नेतृत्वको भूमिका महत्वपूर्ण हुने लामिछानेले बताएका छन्। कास्की क्षेत्र नं. १ मा ३५ वर्षमुनिको युवा खुलातर्फ लामिछानेको उम्मेदवारीसँगै कांग्रेसको महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व र नेतृत्व विकासको विषयले थप चर्चा पाएको छ।