काठमाडौं ।पूर्वी जापानको कान्टो क्षेत्रमा आएको भारी वर्षापछि बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।
घटनामा तीन जना अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।मृत्यु हुनेमध्ये चिबा प्रिफेक्चरका सात जना र कानागावा प्रिफेक्चरका चार जना छन्। जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार कानागावाको योकोसुकामा पहिरोपछि बेपत्ता भएकी ७० वर्षीया महिलाको शवसमेत फेला परेको छ।सोमबार जापानको पूर्वी प्रशान्त तटमा पुगेको ‘डुजुआन’ आँधीले कान्टो क्षेत्र र इजु टापुमा अत्यधिक वर्षा गराएको थियो। भारी वर्षापछि पहिरो र नदीमा बाढी आउँदा टोकियो आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ।
एनएचकेका अनुसार बिहीबार दिउँसोसम्म चिबा र कानागावा प्रिफेक्चरमा करिब एक हजार भवन ध्वस्त, क्षतिग्रस्त वा डुबानमा परेका छन्। उत्तरी चिबाको इम्बानुमा ताल क्षेत्रमा केही बाँध भत्किँदा बस्ती, धानखेत र सडकसमेत डुबानमा परेका थिए।बाढीको पानी घट्दै गए पनि केही क्षेत्रमा जोखिम कायमै रहेको जनाइएको छ। आँधीका कारण यातायात र विद्युत् सेवा पनि प्रभावित भएको छ। शुक्रबार बिहानसम्म चिबा र कानागावाका करिब ११ हजार ७९० घरपरिवारमा विद्युत् सेवा अवरुद्ध थियो।प्रहरी र अग्नि नियन्त्रक टोलीले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्। यसैबीच जापानको मौसम विज्ञान विभागले अर्को आँधी जापान नजिक पुग्न सक्ने भन्दै ओकिनावा लगायतका क्षेत्रमा उच्च छाल र खराब मौसमको सम्भावनाबारे चेतावनी दिएको छ।