काठमाडौं ।चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषयलाई संवेदनशील रूपमा लिन अमेरिकालाई आग्रह गरेका छन्।
सीले ‘ताइवान स्वतन्त्रता’ को पक्षमा नउभिन अमेरिकाले आफ्नो नीतिमा स्पष्टता कायम गर्नुपर्ने बताएका छन्।ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा सीले चीन र अमेरिकाबीच सहकार्यलाई प्राथमिकता दिँदै प्रतिस्पर्धालाई व्यवस्थापन गर्नुपर्ने धारणा राखे। मतभेदलाई संवादमार्फत सम्हाल्दै दुई देशबीचको सम्बन्धलाई स्थिर दिशामा अघि बढाउनुपर्ने उनको भनाइ थियो।आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप स्थिर बनाउन यसअघि भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा पनि सीले जोड दिए। सहयोगका सम्भावित क्षेत्र विस्तार गर्दै विवादका विषय कम गर्न दुवै पक्षले प्रयास गर्नुपर्ने उनको भनाइ थियो।
सीले कृत्रिम बौद्धिकता अर्थात् एआईलाई पनि चीन–अमेरिका सहकार्यको महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरे। दुवै देशसँग एआई विकासका लागि पर्याप्त क्षमता रहेको उल्लेख गर्दै यसको फाइदा र सम्भावित जोखिमबारे नियमित संवाद आवश्यक रहेको उनले बताए। एआईको दुरुपयोग रोक्न संयुक्त प्रयास गर्नुपर्ने र यसको विकास मानवकेन्द्रित तथा मानव नियन्त्रणभित्र रहनुपर्नेमा सीले जोड दिए।
ताइवानको विषयमा भने चीनको राष्ट्रिय एकीकरण र क्षेत्रीय अखण्डतासम्बन्धी अडान परिवर्तन नभएको सीले स्पष्ट पारे। अमेरिकाले ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्ने आफ्नो नीतिलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।भेटमा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि चीनसँग आर्थिक तथा व्यापारिक संवादलाई निरन्तरता दिनुपर्ने धारणा राखे। पछिल्ला छलफलबाट केही प्रगति भएको उल्लेख गर्दै व्यापारसम्बन्धी समझदारी थप सुधार गर्न वार्ता जारी राख्ने पक्षमा उनले जोड दिए। एआईको क्षेत्रमा पनि संवाद र सहकार्य अघि बढाउने विषयमा दुवै नेता सहमत भएका छन्।
वार्ताका क्रममा मध्यपूर्वको अवस्था, युक्रेन सङ्कट र कोरियाली प्रायद्वीपको परिस्थितिलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा पनि छलफल भएको थियो। साथै, सन् २०२६ मा हुने एपेक आर्थिक नेताहरूको बैठक र जी–२० शिखर सम्मेलनको तयारी तथा आयोजनामा एकअर्कालाई सहयोग गर्ने विषयमा समेत सहमति भएको बताइएको छ।राष्ट्रपति सीको तीनदिने अमेरिका भ्रमणका क्रममा भएको यो भेट पछिल्लो ६ महिनाभन्दा कम अवधिमा दुई नेताबीच भएको दोस्रो प्रत्यक्ष भेटका रूपमा उल्लेख गरिएको छ।