काठमाडौं ।लगातारको वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीमा हुने निर्वाचन कार्यक्रम एक दिन पछाडि सारिएको छ।
जिल्ला निर्वाचन समितिले यसअघि असोज १० गते गर्ने तय गरेको निर्वाचनलाई नयाँ तालिकाअनुसार असोज ११ गते पुर्याएको हो।मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने र त्यसबाट जनजीवन प्रभावित हुनसक्ने सूचना जारी गरेको थियो। यही अवस्थालाई ध्यानमा राख्दै कांग्रेस केन्द्रीय निर्वाचन समितिको असोज ८ गतेको विज्ञप्तिसमेतलाई आधार बनाएर कार्यक्रम संशोधन गरिएको जिल्ला निर्वाचन समिति रुपन्देहीले जनाएको छ।
नयाँ कार्यतालिकाअनुसार प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज ११ गते हुनेछ। त्यसपछि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १३ गते आयोजना गर्ने गरी निर्वाचन कार्यक्रम तय गरिएको छ।जिल्ला निर्वाचन समिति संयोजक अधिवक्ता रामचन्द्र गौतमले जारी गरेको विज्ञप्तिमार्फत संशोधित कार्यतालिकाबारे जानकारी गराइएको हो।वर्षाको अवस्था र त्यसबाट उत्पन्न हुनसक्ने आवागमन तथा व्यवस्थापनसम्बन्धी समस्यालाई मध्यनजर गर्दै निर्वाचन कार्यक्रम सारिएको समितिले जनाएको छ।