काठमाडौं ।संयुक्त राष्ट्रसङ्घको महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सम्बोधन सुरु हुनासाथ सभाकक्षमा विरोधको दृश्य देखिएको छ।
नेतान्याहु बोल्न मञ्चमा पुगेपछि दर्जनौँ प्रतिनिधि विरोध जनाउँदै बैठक कक्षबाट बाहिरिएका थिए।विरोधका बीच सम्बोधन गरेका नेतान्याहुले इरान, गाजा र मध्यपूर्वमा इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाहीको बचाउ गरे। उनले युद्धबाट पछि नहट्ने संकेत गर्दै इजरायलले अन्ततः विजय हासिल गर्ने दाबी गरे।आफ्नो सम्बोधनको क्रममा नेतान्याहुले गाजामा इजरायलले नरसंहार गरिरहेको आरोप अस्वीकार गरे। साथै, आफ्नो सरकारको आलोचना गर्ने विभिन्न देश र नेताहरूमाथि समेत उनले कडा टिप्पणी गरे।
नेतान्याहुभन्दा केही घण्टाअघि प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले भिडियोमार्फत महासभालाई सम्बोधन गरेका थिए। अमेरिकी भिसा नपाएपछि पूर्वरेकर्ड गरिएको सन्देश पठाएका अब्बासले पश्चिमी किनारमा इजरायली बस्ती विस्तारका कारण दुई–राज्य समाधान थप संकटमा परेको बताएका थिए। उनले गाजामा जारी सैन्य कारबाहीप्रति पनि गम्भीर आरोप लगाए।सम्बोधनका क्रममा नेतान्याहुले बेलायत, फ्रान्स र टर्कीसहित आफ्ना आलोचक देश तथा नेताहरूको आलोचना गरे। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानमाथि हमासलाई समर्थन गरेको आरोप लगाउँदै उनले उनलाई कडा शब्दमा टिप्पणी गरे। त्यसको जवाफमा टर्कीका सञ्चार निर्देशक बुरहानेत्तिन दुरानले नेतान्याहुले राष्ट्रसङ्घको मञ्चलाई आरोप लगाउन प्रयोग गरेको प्रतिक्रिया दिएका छन्।
न्यूयोर्कका मेयर जोहरान मम्दानीप्रति पनि नेतान्याहुले टिप्पणी गरेका थिए। मम्दानीको कार्यालयले भने नेतान्याहुको आरोपलाई अस्वीकार गर्दै गाजासम्बन्धी विषयबाट ध्यान मोड्न गलत दाबी गरिएको प्रतिक्रिया दिएको छ।सम्बोधनको अन्त्यमा नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वको प्रशंसा गर्दै इरानविरुद्ध गरिएको संयुक्त सैन्य कारबाहीलाई सही कदमका रूपमा प्रस्तुत गरे।